ग्रहको महासंघर्ष : कसरी हुन्छ ‘ग्रह युद्ध’ ?

ग्रह युद्ध

ज्योतिषशास्त्रमा ग्रह युद्ध एक महत्वपूर्ण र गहिरो विषय हो । यो त्यस्तो अवस्था हो जब दुई तारा ग्रह (मंगल, बुध, बृहस्पति, शुक्र र शनि) आकाशमा एक अर्काको अत्यन्त नजिक आइपुग्छन् र उनीहरूको प्रकाश वा आभासी गोलाकार डिस्क एकअर्कासँग टकराउँछ वा मिल्छ । यस अवस्थामा ग्रहहरूको आपसी प्रभाव असामान्य हुन्छ र यसले जातकको जीवनदेखि देश-कालसम्म असर पुर्‍याउँछ । यो विश्लेषण सूर्य-सिद्धान्त, बृहत् संहिता र भविष्य पुराणजस्ता प्राचीन ग्रन्थहरूको आधारमा तयार गरिएको हो । जसमा ग्रह युद्धको गणना, यसको स्वरूप र प्रभावहरू स्पष्ट रूपमा उल्लेख छन् ।

१) ग्रह युद्धको परिभाषा र प्रकार

प्राचीन भारतीय ज्योतिषमा ग्रहहरूको निकटता (युति) तीन प्रकारमा वर्गीकृत गरिएको छ । योग, युद्ध र समागम ।

योग: सूर्य वा चन्द्रमा जब पाँच तारा ग्रहहरूसँग (मंगल, बुध, बृहस्पति, शुक्र र शनि) मिल्छन्, त्यसलाई योग भनिन्छ । सूर्यसँगको योगलाई अस्त वा दहन भनिन्छ ।

समागम: चन्द्रमा जब तारा ग्रहहरूसँग नजिक आउँछ, त्यसलाई समागम भनिन्छ ।

युद्ध: जब दुई तारा ग्रह {सूर्य र चन्द्रमा (राहु र केतु बाहेक)} एकअर्कासँग अत्यन्त नजिक आउँछन् र तिनका प्रकाश वा आभासी आकार एकअर्कामा मिसिन्छन् भने त्यसलाई ग्रह युद्ध भनिन्छ । ग्रह युद्ध केवल तारा ग्रहहरू बीच हुन्छ किनभने सूर्य र चन्द्रमा मण्डल ग्रह हुन् एवं राहु र केतु छाया ग्रह हुन् ।

ग्रह युद्धका प्रमुख प्रकार

१. उल्लेख युद्ध: जब दुई ग्रहका गोलाकार डिस्कहरू एकअर्कालाई छोइन्छन् तब उल्लेख युद्ध हुन्छ ।

२. भेद युद्ध: जब दुई ग्रहका डिस्कहरू केही अंशमा एकअर्कामा प्रवेश गर्छन् तब भेद युद्ध हुन्छ ।

३. अंशुविमर्द युद्ध: जब दुई ग्रहका किरणहरू आपसमा मिल्छन् तब अंशुविमर्द युद्ध हुन्छ ।

४. अप्सव्य युद्ध: जब दुई ग्रहहरूको अक्षांशीय दूरी एक डिग्रीभन्दा कम हुन्छ तब अप्सव्य युद्ध हुन्छ । यसका दुई उप-प्रकार छन् ।
जब सानो आकारको ग्रह चम्किलो हुन्छ हुन्छ तब व्यक्त अप्सव्य हुन्छ भने जब सानो आकारको ग्रह कम चम्किलो हुन्छ तब अभव्यक्त अप्सव्य हुन्छ ।

यसका अतिरिक्त तीन यस्ता युद्धहरू पनि छन् जहाँ स्पष्ट विजेता हुँदैन ।

१. जब दुवै ग्रहका आकार साना हुन्छन् तब कूट युद्ध हुन्छ ।

२. जब दुवै ग्रहका आकार क्षीण वा अस्पष्ट हुन्छन् तब विग्रह युद्ध हुन्छ ।

३. जब दुवै ग्रह चम्किला हुन्छन् तर अक्षांशीय दूरी एक डिग्रीभन्दा बढी हुन्छ तब समागम युद्ध हुन्छ ।

शास्त्रीय प्रमाण:
सूर्यसिद्धान्तमा ग्रहहरूको आकार (डिस्क) वास्तविक आकार र गणनाको विस्तृत विवरण पाइन्छ । जुन ग्रह युद्ध गणनाको मूल आधार हो । वराह मिहिरद्वारा रचित बृहत् संहितामा चार प्रमुख युद्ध प्रकारहरू (भेद, उल्लेख, अंशुविमर्द र अप्सव्य) उल्लेख छन् र तिनका प्रभावहरू राष्ट्रिय ज्योतिषसम्म विस्तारित रूपमा व्याख्या गरिएका छन् ।

२) ग्रह युद्धको गणना

ग्रह युद्ध गणना गर्नका लागि ग्रहहरूको देशांतर, अक्षांश र तिनका डिस्कको( सतहको) आकार जान्नुपर्छ । सूर्यसिद्धान्तअनुसार चन्द्र कक्षाअनुसार तिनका औसत आकार यस्ता छन् ।

मंगल: ३० योजन

बुध: ४५ योजन

बृहस्पति: ५२.५ योजन

शुक्र: ६० योजन

शनि: ३७.५ योजन

चन्द्रमा: ४८० योजन

सूर्य: ४८६.२ योजन

यी आकारलाई चापको मिनेटमा रूपान्तरण गर्न १५ बाट भाग गरिन्छ । जस्तै, शुक्रको योजन ६०÷१५ = ४ मिनेट र मंगलको ३०÷१५ = २ मिनेट हुन्छ । यदि दुई ग्रहबीचको देशांतर अन्तर तिनको संयुक्त व्यास (जस्तै शुक्र मंगलका लागि ६ मिनेट) भन्दा कम छ र अक्षांशीय अन्तर १ डिग्रीभन्दा कम छ भने त्यसलाई ग्रह युद्ध मानिन्छ ।

उदाहरण:
यदि मंगल १६८° र शुक्र १६८.०३° मा छन् भने तिनको देशांतर अन्तर ०.०३° (१.८ मिनेट) हुन्छ । यो ३ मिनेटभन्दा कम भएकाले र यदि अक्षांश अन्तर पनि १° भन्दा कम छ भने यो भेद युद्ध हो ।

आधुनिक खगोल विज्ञानसँग तुलना:
चन्द्रमाको दूरी र व्यासका आधारमा यसको कोणीय आकार लगभग ३१.०८’ हुन्छ । सूर्यसिद्धान्तमा यसलाई ४८० योजन मापन गरिएको छ । जसमा केवल करिब ३% मात्र भिन्नता छ । यसले देखाउँछ कि प्राचीन गणनाहरू आधुनिक खगोल विज्ञानसँग अत्यन्त नजिक छन् ।

३) ग्रह युद्धका ज्योतिषीय प्रभावहरू

आचार्य रंगनाथले भृगु ऋषिको मतअनुसार ग्रह युद्धका प्रभाव यसरी दिएका छन् ।

अप्सव्य युद्ध = विवाद र कलह
अंशुविमर्द युद्ध =युद्ध वा संघर्ष
उल्लेख युद्ध =मन्त्री वा सहयोगीलाई पीडा
भेद युद्ध = धन हानि वा आर्थिक समस्या

वराह मिहिरकाअनुसार ग्रह युद्धले राष्ट्रमा युद्ध, अकाल वा समृद्धि पनि ल्याउन सक्छ । व्यक्तिगत कुंडलीमा यसको असर ग्रहको स्थिति र विजेता पराजित ग्रहको आधारमा भिन्न हुन्छ । जस्तै, यदि शुक्र अप्सव्य युद्धमा विजेता भयो भने सौन्दर्य, धन र सुखमा वृद्धि हुन्छ; पराजित ग्रह कमजोर फल दिन्छ ।

४) ग्रह युद्धको दुर्लभता र मध्यकालीन भ्रम

ग्रहहरूको डिस्क आकार अत्यन्त सानो (२’-४’) हुने भएकाले जन्मकुण्डलीमा ग्रह युद्ध अत्यन्त दुर्लभ हुन्छ । तर लौकिक ज्योतिषमा ग्रहहरू प्रायः नजिक आउँदा यो देखिन्छ । मध्यकालीन समयमा केही ग्रन्थहरूले यो अवधारणा सरल पार्दै केवल देशांतर अन्तर १° भन्दा कम भए पनि युद्ध मानेका छन्, जुन शास्त्रीय दृष्टिले गलत व्याख्या हो । वास्तविक रूपमा युद्ध तब मात्र हुन्छ जब अक्षांश अन्तर १° भन्दा कम हुन्छ ।

५) शास्त्रीय ग्रन्थहरूमा उल्लेख

सूर्यसिद्धान्त: ग्रहहरूको आकार र गणना

बृहत् संहिता: ग्रह युद्धका चार प्रकार र राष्ट्रिय प्रभावहरू

पञ्चसिद्धान्तिका: वराहमिहिरले ग्रह युद्धको गणितीय व्याख्या गरे, तर हालको संस्करणमा त्यो अंश हराएको छ ।

भविष्य पुराण : मंडल र छाया ग्रहहरूको वर्गीकरण

ग्रह युद्ध ज्योतिषको एक जटिल र सूक्ष्म सिद्धान्त हो । यसको मूल आधार ग्रहहरूको वास्तविक आकार, देशांतर र अक्षांश अन्तरमा निहित छ । सूर्यसिद्धान्त र बृहत् संहिताजस्ता ग्रन्थहरूले यसको वैज्ञानिक गणना र ज्योतिषीय प्रभाव दुवै स्पष्ट गरेका छन् । आधुनिक खगोल विज्ञानसँग तुलना गर्दा प्राचीन गणनाहरू निकै सटीक पाइन्छन् । मध्यकालीन समयमा यसको सरल व्याख्या हुँदा केही भ्रमहरू उत्पन्न भए । त्यसैले ग्रह युद्धको सही अध्ययनका लागि शास्त्रीय ग्रन्थहरूको गहिरो अध्ययन आवश्यक छ ।

(लेखक न्यौपाने वेद वेदाङ्ग संस्कृत विद्यापीठम् देवघाटधाममा अध्ययनरत हुनुहुन्छ ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट