मानव सभ्यताको प्रारम्भदेखि नै प्रकृतिसँग मानिसको सम्बन्ध उपयोगात्मक मात्र नभई आध्यात्मिक समेत रहँदै आएको छ। हिन्दू धर्मदर्शनले प्रकृतिलाई देवत्वका रूपमा स्वीकार गरी त्यसप्रति श्रद्धा, संरक्षण र सह–अस्तित्वको दर्शन प्रस्तुत गरेको छ। वेद, उपनिषद्, स्मृति र धर्मशास्त्रहरूले प्रकृति पूजालाई जीवनको अविभाज्य अङ्गका रूपमा स्थापना गरेका छन्। आधुनिक युगमा वातावरणीय संकटले विश्वलाई त्रसित बनाइरहेको सन्दर्भमा वैदिक परम्परामा समाविष्ट प्रकृति पूजाको दर्शनले नैतिक, धार्मिक र कानुनी सन्तुलनका माध्यमबाट पर्यावरणीय समाधानको वैकल्पिक बाटो देखाउँछ। नेपालजस्तो हिन्दू परम्परायुक्त राष्ट्रमा धर्म, कानून र संस्कृतिको त्रिविध सम्बन्धले वातावरणीय चेतनाको पुनर्स्थापनामा महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ।
प्रकृति र वातावरणीय विधिशास्त्रको विकास
वेदहरू मानव र प्रकृतिबीचको सह–अस्तित्वका दर्शन हुन्। ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदमा अग्नि, सूर्य, वायु, वरुण, पृथ्वी, जल, आदिलाई देवत्वको रूप दिइ पूज्य ठहर गरिएको छ । अथर्ववेदको “माता भूमिः पुत्रोऽहं पृथिव्याः” अर्थात् पृथ्वी (भूमि) माता हुन् र यहाँ रहेका सबै उनका सन्तान हुन् भन्ने मन्त्रले मानव र भूमिबीचको आत्मीय सम्बन्ध प्रकट गर्दछ। यज्ञ, दान र तपलाई केवल धार्मिक कर्म नभई पर्यावरणीय सन्तुलनका साधनका रूपमा पनि व्याख्या गरिएको छ। आधुनिक कानुनका सिद्धान्त र त्यसको व्यवहारिक प्रयोगलाइ विश्लेषण गर्नका लागि यसको मूल श्रोत र श्रोतको सान्दर्भिकतासम्म पुग्नु पर्ने हुन्छ । कानुन निर्माणका विभिन्न श्रोतहरूमध्ये प्रथाजनित कानुन पनि प्रमुख श्रोतको रूपमा रहेको हुन्छ । आधुनिक कानुनी जगतमा वातावरणीय कानुनले सर्वाधिक महत्त्व पाएको छ ।
नेपालको वातावरणीय विधिशास्त्रलाइ जान्न नेपाली समाजमा परम्परादेखि चलिआएका चालचलन रीतिरिवाज र त्यसको श्रोतको रूपमा रहेको हिन्दू धर्म दर्शनको समेत अध्ययन गर्नु जरुरी रहन्छ । हिन्दू धर्मशास्त्रका ग्रन्थहरूमा उल्लिखित प्रकृति पूजाका सन्दर्भहरू र त्यसैका आधारमा निर्मित रीतिरिवाज प्रथा परम्पराहरूको प्रभाव समाजमा अद्यापि कायम रहेको छ । मानवका वाह्य व्यवहारलार्इ प्रचलित कानुनले नियन्त्रण गर्दछ भने मानसिक/नैतिक शुद्धीकरण र नैतिकता सदाचारका साथै भावानात्मक दृष्टिकोणलाइ नियन्त्रण गर्ने कार्य धर्म परम्पराले गरेका हुन्छन । समाजमा सनातनदेखि चलिआएका तिनै प्रथा परम्परालाइ नै कानुन निर्माणको क्रममा विधायिकाले श्रोतको रूपमा ग्रहण गर्दछ ।
आधुनिक कानुनको विधिशास्त्रले समेटेको वातावरण संरक्षणको बिषयलाइ हिन्दू धर्मदर्शनका कयौँ ग्रन्थहरूले आदिकालदेखि नै समावेश गरेको पाइन्छ । प्रकृतिका मुख्य क्षेत्र : जल, जंगल, जमिन, आगो, जनावर, आकाश र वायुलाई विभिन्न किसिमबाट संरक्षणका लागि प्रेरित गरेको छ । वर्तमान समाजमा प्रचलित संस्कार तथा पूजाआजाले पनि त्यसलाई श्रद्धा गरेको पाइन्छ ।

वैदिक दर्शनमा प्रकृति र विधिशास्त्रीय सम्बन्ध
वेद हिन्दू धर्मशास्त्र र वैदिक अनुयायीका लागि मूल ग्रन्थ हो । चार वेदहरू (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद) विश्वका सबैभन्दा प्राचीन ग्रन्थ मानिन्छन्, जहाँ प्रकृतिको पूजा र सम्मानको स्पष्ट दर्शन पाइन्छ। अथर्ववेदले भूमि र मानवबीचको अन्योन्याश्रित सम्बन्ध र भूमिको सम्मान प्रकट गर्दछ । ऋग्वेदमा अग्नि, सूर्य, इन्द्र, वरुण, वायु, जल, पृथ्वी आदि प्राकृतिक शक्तिहरूलाई देवता मानी पूजा गरिएको छ। कालान्तरमा वैदिक सनातनीले यिनै देवताहरूको यज्ञमार्फत् आराधना गर्दै प्रकृतिसँग सन्तुलन कायम राख्ने अभ्यास विकास गरे जसबाट आजसम्म पनि प्रकृति पूजालाई सामाजिक जीवनको अभिन्न अङ्ग मानेको पाइन्छ । जन्मदेखि मृत्यु पर्यन्तका संस्कार चाडपर्व यसैबाट निर्देशित रहेका छन् ।
हिन्दू धर्ममा मानवका जीवनका १६ संस्कार उल्लेख छन् । जसको हरेक चरणमा प्रकृति पूजाको गहिरो प्रभाव देखिन्छ। यसरी मानव जीवनशैली स्वयं पञ्चमहाभूत (पृथ्वी, जल, अग्नि, वायु, आकाश) का प्रतीकात्मक व्यवहारमा आधारित छ। उपनयन, विवाह श्राद्ध दैनिक नित्यकर्मले पनि मानवीय गतिविधिलाई निर्देशित गरेको छ जुन हिन्दू धर्मदर्शनमा आधारित रहेका छन् । तुलशी तथा पिपल पूजा आदिले मानव र बनस्पतिको सम्बन्धलाई हजारौ बर्षदेखि जीवन्तता कायम राखेको छ । प्रकृति पूजालाइ जीवनदर्शनको आत्माको रूपमा बिभिन्न ऋषीमुनिहरूले ब्याख्या गरेका छन् । “यज्ञदानतपः कर्म न त्याज्यं ब्राह्मणैः क्वचित्” (मनुस्मृति १।८८) “ब्राह्मणले यज्ञ, दान र तप कहिल्यै त्याग्नु हुँदैन।” भन्दै मनुले ‘यज्ञ’ शब्द केवल धार्मिक कर्म होइन, मानव, देवता र प्रकृतिबीचको सन्तुलन कायम राख्ने क्रिया हो भनि उल्लेख गरेको पाइन्छ । जुन व्याख्यामा आधारित पूजा, व्रत र अनुष्ठानहरू अन्ततः प्रकृतिको सम्मान र सन्तुलनसँग सम्बन्धित छन्।
सामाजिक संस्कार र पर्यावरणीय दर्शन
हाम्रो समाजमा केही संस्कारहरू निरन्तर चलिआएका छन् । जसलाइ धर्मको रूपमा अर्थात पुण्यकार्यको रूपमा परिभाषित गरिएको छ । नदी, पोखरी, वर्षा आदिको आराधना अर्थात जल पूजाले जलस्रोतको संरक्षणमा महत्त्व दिएको छ । वन संरक्षणको लागि पीपल, वर, तुलसी, बेल, धतुरा आदि वृक्ष पूजा गरिन्छ । काग गाई, सर्प, कुकुर, गोरु आदिलाई देवस्वरूप मान्ने परम्परा रहेको छ र यी जनावरको पूजाले जैविक विविधताको सम्मान गरेको छ । यसै गरी पृथ्वी वायु सुर्य चन्द्रमा आदिलाई समेत भगवानका बिभिन्न स्वरूप मानि पूजा अर्चना गरिन्छ । हामीहरूका हरेक महिना कुनै न कुनै चाडपर्वहरू रहेका छन् हरेक चाडपर्वमा कुनै न कुनै रूपमा जलजंगल, जमिन, सूर्य, चन्द्रमा, वायुको पूजा गरी अनन्तकालसम्म यसको अस्तित्वलाइ वचाउने प्रयत्न गरिएको छ । नेपालमा हिन्दू धर्म परम्परागत समाजको सांस्कृतिक मेरुदण्ड हो। वैदिक आचार्यहरूले आज पनि प्रकृति पूजालाई परम्परागत र व्यवहारिक दुवै रूपमा जगेर्ना गर्नकालागि प्रेरित गरिरहेका छन् । घर–घरमा तुलसी मठ बनाइन्छ भने बाटोघाटोमा पिपल र वरको रुख रोपी पूजा गर्नुको साथै नदीहरूलाई पवित्रस्थल मानी धार्मिक स्नान गरिन्छ । प्रकतिको दीर्घ संरक्षणकालागि पनि जोड दिइएको छ ।
नेपालमा वातावरणीय कानुन र प्रकृती संरक्षण
हाम्रो कानुनको इतिहास हिन्दू धर्म दर्शनबाट प्रभावित रहेको छ । प्रथाजनित कानुन र पश्चिमा कानुन खासगरी बेलायती कानुन दुवैको प्रभाव रहेको आधुनिक विधिशास्त्र र वातावरणीय कानुनमा समेत प्रत्यक्ष प्रभाव रहेको छ । पृथ्वीमा भएका सम्पूर्ण प्राणी जगतका लागि अपरिहार्य तत्वको रूपमा रहेको स्वच्छ वातावरण प्रकृतिको अनूपम उपहार हो । परम्परागत धारणाहरू, धर्म, मूल्यमान्यता, संस्कार संस्कृति, विश्वास, आस्था, दर्शन लगायतबाट सुरक्षित, स्वस्थ र स्वच्छ वातावरण कायम रहँदै आएको छ । वातावरण र प्राणी जगतको अन्तरसम्बन्धलाई विश्लेषण गरेर स्वच्छ वातावरणको अधिकारलाई मानव अधिकारको एउटा अंगको रूपमा लिएको पाईन्छ । वर्तमान समयमा नेपालमा विकाससँगै वातावरणमा समस्याहरू मौलाउदै गएका छन् । वातावरणमा प्लाष्टिक प्रदूषणको रूपमा झोला, बोतल तथा प्लाष्टिजन्य सामाग्रीको अत्यधिक अव्यस्थित प्रयोग, गिट्टी, बालुवा, ढुङ्गा जस्ता नदी लगायत प्राकृतिक स्रोतको अनियन्त्रित प्रयोग, अव्यवस्थित ढल, मलमूत्र, फोहरमैला, अस्पतालजन्य फोहरमैला र यसको अव्यवस्थित विसर्जन स्थल, सिमेन्ट उद्योगजन्य प्रदूषण, वायु प्रदूषण, ध्वनि प्रदूषण, विषादी, रसायनिक पदार्थ तथा मलको अनियन्त्रित प्रयोग आदी वातावरण प्रदूषणका प्रमुख कारण हुन् ।
वन विनाश, डढेलो, पशुपालनजन्य फोहरबाट पानीका मुहान तथा नदीनालाको प्रदूषण, जथाभावी सडक निर्माण र बाढी पहिरो, निर्माणजन्य फोहोर, जलवायु परिवर्तनको असर र प्रभावले वातावरण क्षयिकरण भैइरहेको छ । यसले मानवको सुरक्षित, स्वच्छ र स्वस्थ वातावरणको अधिकारमा वाधा पुगेको छ । नेपालको संविधान २०७२, धारा ३० ले “हरेक नागरिकलाई स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार ” प्रदान गरेको छ । वातावरण संरक्षण भन्नासाथ प्राकृतिक सामाजिक साँस्कृतिक र मनोबैज्ञानिक वातावरणहरूको संरक्षणलाइ जोड दिइनु पर्दछ । धर्म परम्परा र आश्थामा हुदै गएको बिश्वासको कमीका कारण तथा आधुनिक विकास पद्धतिले परम्परागत मूल्यलाइ आत्मसात गर्न नसकेका कारण वातारणीय विनास बृद्धि हुदै गएको छ । वातावरण संरक्षण ऐन २०७६ ले स्वच्छ र स्वस्थ वातावरणमा बााँच्न पाउने प्रत्येक नागरिकको मौलिक अधिकारको संरक्षण गर्ने वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षति वापत पीडितलाइ क्षतिपुर्ति उपलब्ध गराउने तथा वातावरण र विकासबीच सन्तुलन कायम गरी जलवायु परिवर्तनको प्रभावलाइ न्युनिकरण गर्ने उद्येश्य लिइएको छ । प्राकृतिक सम्पदाको दिगो उपयोग र प्रदूषण नियन्त्रणको कानुनी आधार यसले तयार पारेको छ ।
यस अतिरिक्त अन्य कैयौ प्रचलित कानुनहरूले पनि वातावरण संरक्षणमा जोड दिएका छन् । यसैगरी फोहोरमैला व्यवस्थापन ऐन २०६८, वन ऐन २०४९, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन,२०७४ समेत वातावरण संरक्षणसँग सम्बन्धित छन् । प्रकृति प्रदत्त वातावरण संरक्षणकालागि बिभिन्न ऐन कानूनहरू, मानव अधिकार राष्ट्रिय कार्ययोजना तथा सम्मानित सर्वोच्च अदालतबाट नजिरहरू प्रतिपादन भएको पाईन्छ । मानव अधिकार राष्ट्रिय कार्ययोजनाले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई कार्ययोजनामा समेटेको छ भने दिगो विकासका लक्ष्यहरूमा समेत वातावरण संरक्षणलाइ जोड दिइएको छ ।
भनिन्छ, कानुनले मानिसको बाह्य गतिविधिलाइ मात्र नियन्त्रण वा निर्देशित गर्न सक्दछ भने धर्म मूल्य मान्यताले मानिसको सोच दृष्टिकोणमा परिवर्तन ल्याउदछ । आधुनिक विधिशास्त्रले वातावरण विनास गरेमा के कस्तो कारबाही हुने भन्नेमा बढी जोड दिएको पाइन्छ । मानिसलाई यो गर वा यो नगर भनेर निर्देशित गर्ने प्रयत्न कानुनले गरेको हुन्छ भने धार्मिक मूल्य मान्यताहरूले सोही कुरालाइ अन्तरआत्मा देखि नै निर्देशित गर्न सक्दछ । तसर्थ वातावरण संरक्षण अझ भनौ विविधतायुक्त प्रकृतिको संरक्षणकालागि विकास योजनाभित्र आध्यात्मिक चिन्तनको प्रयास गराउनु जरुरी हुन्छ । आधुनिक सन्दर्भमा मानिस र पर्यावरणीय चेतना विकासका लागि हिन्दू विधिशास्त्रलाइ पुनर्स्थापित गर्न सकिएमा आशातित उपलब्धि हाशिल गर्न सकिन्छ । आजको वैज्ञानिक युगमा पनि बैदिक सनातनीहरूको संस्कारहरूले केही मूल्यवान् शिक्षा दिएका छन् । प्रकृतिको उपयोगमा सह–अस्तित्वलाइ स्वीकार गर्न सक्नुपर्दछ ।
भौतिक विकाससँगै आध्यात्मिक चिन्तन र आत्मिक सन्तुलन कायम गरिनु पर्दछ । धर्मको मूल सारको रूपमा रहेको “सर्वे भवन्तु सुखिनः” अर्थात् सबै जीव र प्रकृति सुखी हुन् भन्ने मान्यतालाइ स्थापित गर्न सकियो भने मात्र प्रकृति पुजाको महत्व बढ्न सक्दछ । नेपालमा अझै पनि तीर्थ, व्रत, पूजा र यज्ञमार्फत सामाजिक र पर्यावरणीय सन्देश फैलाउने कार्य भइरहेको पाइन्छ । यी संस्कारहरूलाइ आधुनिक विकास पद्धतिभित्र छिराउन सक्नुपर्दछ । यी परम्पराहरू केवल धार्मिक कर्म होइनन्स तिनीहरू पर्यावरणीय नैतिकताका जीवन्त रूप हुन् भन्ने सन्देश नयाँ पुस्ताहरूलाइ दिन सक्नु पर्दछ । वैदिक सनातनीहरूको संस्कार र प्रकृति पूजा वैदिक कालदेखि आजसम्म हिन्दू सभ्यताको आत्मा हुन् । यो प्रकृति, मानव र वातावरणबीचको सन्तुलनको अनन्त दर्शन हो।
निष्कर्ष
हिन्दू विधिशास्त्र र वैदिक दर्शनले वातावरण संरक्षणका सिद्धान्तहरूलाइ हजारौं वर्षअघि नै प्रतिपादन गरि अभ्यासमा ल्याइसकेको थियो। प्रकृति पूजाको भावना केवल धार्मिक अनुष्ठान होइन, यो मानवीय अस्तित्व र पर्यावरणीय सन्तुलनबीचको गहिरो नाता हो। धर्मले आत्मिक चेतना प्रदान गर्छ भने कानूनले त्यसको व्यवहारिक संरचना बनाउँछ। नेपालले आफ्नो कानुनी संरचनामा यी वैदिक मूल्यहरूलाई आत्मसात् गर्न सकेमा वातावरणीय संकट समाधानको दिशामा ठोस प्रगति गर्न सकिन्छ।





