देवघाटका तीर्थलाललाई गोरखाली तमू समाज र तमू प्ये ल्हु संघद्वारा आर्थिक सहयोग

देवघाट (तनहुँ), १३ असोज ।

लामो समयदेखि श्वासप्रश्वासको गम्भीर समस्यासँग जुधिरहेका देवघाट गाउँपालिका–१ गोपीटारका ४३ वर्षीय तीर्थलाल गुरूङलाई गोरखाली तमू समाज र तमू प्ये ल्हु संघ चितवनले संयुक्तरूपमा आर्थिक सहयोग गरेका छन् ।

तीर्थलालको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले दुई संस्थाले कूल ६१ हजार पाँच रुपैयाँ हस्तान्तरण गरेका छन् ।

गोरखाली तमू समाजको तर्फबाट ४६ हजार पाँच रुपैयाँ नगद सहयोग गरिएको हो भने, तमू प्ये ल्हु संघ चितवनले अक्सिजनको सानो सिलिण्डरको मूल्य बराबर १५ हजार रुपैयाँ प्रदान गरेको हो ।

सहयोग रकम देवघाट गाउँपालिका–१ का अध्यक्ष मणिराज गुरूङको विशेष उपस्थितिमा तीर्थलालकै निवासमा पुगेर तीर्थलालकी धर्मपत्नी विष्णुमाया गुरूङलाई हस्तान्तरण गरिएको थियो ।

यसअघि करिब दुई महिनाअघि चितवन पोष्ट दैनिक र अन्य डिजिटल सञ्चारमाध्यममार्फत तीर्थलालको स्वास्थ्य अवस्थाबारे समाचार र भिडियो सामग्री सार्वजनिक भएपछि सहयोगका लागि पहल थालिएको हो ।

गोरखाली तमू समाजतर्फबाट आर्थिक संकलनको संयोजन तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनकी कोषाध्यक्षसमेत रहेकी ज्ञानदेवी गुरूङले गरेकी थिइन् ।

त्यस्तै, तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूको संयोजनमा व्यक्तिगत र संस्थागत सहयोग जुटाइएको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा गोरखाली तमू समाजका अध्यक्ष भुवन गुरूङ, आमा समूहकी अध्यक्ष मनिला गुरूङ र रकम सङ्कलन संयोजक ज्ञानदेवी गुरूङ, तमू प्ये ल्हु संघका अध्यक्ष विक्रम च्हम्रु तमू, कोषाध्यक्ष रिता गुरूङ, सदस्य दानबहादुर गुरूङ, सल्लाहकार पञ्चबहादुर गुरूङलगायतको उपस्थिति थियो ।

गोरखाली तमू समाज र तमू प्ये ल्हु संघ चितवनले समुदायमै रहेका समस्याग्रस्त परिवारलाई लक्षित गर्दै दसैँको अवसरमा सहयोग हस्तान्तरण गरेकोमा वडाध्यक्ष मणिराज गुरूङले संस्थाहरूको प्रशंसा गर्दै आभार व्यक्त गरे ।

स्वासप्रश्वासमा समस्या भएपछि तीर्थलाललाई नियमित अक्सिजनको आवश्यकता पर्न थालेको छ । हाल उनी बिजुलीबाट चल्ने अक्सिजन मेसिनको सहायताले जीवन धानिरहेका छन् ।

तर, मेसिनको खर्चसमेत धान्न नसक्ने अवस्थामा पुगेको उनको परिवारलाई यो सहयोगले केही राहत मिलेको छ ।

संस्थाहरूले भने भविष्यमा पनि आवश्यक परेमा थप सहयोगको सम्भावना खुला राखेका छन् । समुदायभित्रको एकता र सहकार्यले विपद्का बेलामा राहत र सहारा बन्न सक्ने उदाहरणस्वरूप यो सहयोग प्रेरणादायी बन्न पुगेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट