पाठकवृन्द, मैले आजका मितिसम्म सबैभन्दा उच्च धुरी मानेको विचार मार्क्सवाद हो । म यसलाई वैज्ञानिक सिद्धान्त मान्छु, साँच्चै त्यो के यतिबेला यो वैज्ञानिक सिद्धान्त बन्न सकेको छ त ? हुन त म बुद्धलाई पनि त्यतिकै मान्छु । उनी हरेक कुरालाई संशय गर्न सिकाउँछन् । “पहिला प्रश्न गर, अनि त्यसको सही जवाफ पाएपछि मात्र विश्वास गर ।” भनेर सिकाउँछन् । नेपालका माक्र्सवादीहरुले आफ्ना नेताहरुमाथि प्रश्न गर्न सकेको भए यस्तो स्थिति आउँथ्यो कि आउँथेन होला ?
पाठकवृन्द, मलाई अहिले सम्झँदा पनि कहाली लाग्छ, २०८२ साल भदौ २३ र २४ को दुई दिन र रात । २३ गते शान्तिपूर्ण आन्दोलन भनेर २८ वर्षभन्दा कम उमेरका युवा पुस्ता (जेन्जी)ले थालेको आन्दोलनमा काठमाडौँका निहत्था युवाहरु सडकमा गोलीको सिकार भइरहेका दृश्यहरु सामाजिक सञ्जालमा हेरिरहँदा यो मन कम्ता रोइरहेको थिएन । त्यतिमात्र होइन, दुई दिन आँखामा झिमिक्क निद्रा पनि परेको होइन । नहेरौँ जतिबेला पनि मोबाइल हेर्न मन लाग्ने, हेरौँ औडाहा हुने । कठै, जीवनमा त्यस्ता दिन पनि भोग्नु पर्यो ।
अघिल्लो दिन भटाभट युवाहरु मरेका दृश्य हेरियो भने अझ त्योभन्दा भोलिपल्ट काठमाडौँमा सिँहदरबार, संसद भवन, अदालतलगायत सरकारी भवनहरु जलेको दृश्यले मेरो मन कम्ता जलेको होइन । त्यस्तै देशबाहिरका विभिन्न सरकारी तथा निजी निवास जलेका दृश्य पनि कम कहाली लाग्दो थिएन । आफू भरतपुरमा बस्ने भएको हुँदा भवनहरु जलेर उठेको त्यो कालो धुँवाको मुस्लो आकाशमा भन्दा सिधै मेरो मनमा प्रवेश गरिरहेको थियो । आकाशको धुँवा त केही समयपछि सकियो तर मनको धुँवा अझै मडारिइरहेको छ । त्यसको वास्तविक हिसाब कसले गर्ला खै ?
देश ह्र्वाह्वारी जलिरहँदा मार्क्सवादीको खोल ओढेका तत्कालीन प्रधानमन्त्री केपी ओली कुन दुलोमा लुकेका थिए ? आफूलाई संसारकै सबैभन्दा महान् क्रान्तिकारी र माक्र्सवादी ठान्ने पूर्व प्रधानमन्त्री प्रचण्ड कसको घरमा लुकेर बसेका थिए ? कि उनी आफैँ जलाउने योजना बनाउँदै थिए ? त्यस्तै अन्य मार्क्सवादी भनिने पूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टराई, झलनाथ खनाल र माधवकुमार नेपालहरु के हेरेर बसेका थिए ? कि माधवकुमार नेपाल भारततिरै पुगेका थिए ? यस्तो विषम परिस्थितिमा कसैले चुँइक्क एक शब्द पनि नबोल्नु केको सङ्केत थियो ? के त्यसलाई माक्र्सवादीहरुको भागाभाग मान्ने हो कि देशप्रति बेपर्वाह ? यसका बारेमा मैले केही अड्कल काट्न सकेको छैन अझै । पाठकवृन्द, तपाईले चाहिँ के धारणा बनाउनुभयो हँ ?
त्यसो त मैले २०४६ सालको पञ्चायत विरोधी आन्दोलन, २०६२–६३ को लोकतान्त्रिक आन्दोलनमा प्रत्यक्ष सहभागिता जनाएको थिएँ । यो २०८२ को जेन्जी आन्दोलनलाई भने नैतिक समर्थन जनाएको थिएँ । प्रत्यक्ष रुपमा भाग नलिए पनि मैले शब्द भने मिसाएको थिएँ । शान्तिपूर्ण आन्दोलनमा गोली हानी निहत्था युवाको हत्या गर्नेहरुलाई मेरो समर्थन हुने छैन । यति भनेर म प्रतिक्रान्तिको समर्थक भने बनेको होइन, राज्यको सम्पत्ति जलाउनेहरुप्रति पनि मेरो उत्तिकै विरोध छ । घरले के गरेको थियो ? त्यहाँ भएको कागजपत्रले के गल्ती गरेका थिए ? त्यो जल्दा खुसी हुनुपर्ने कारण के हो ? म केही पनि बुझ्दिनँ । देशमा व्यवस्था होइन, अवस्था परिवर्तन हुनुपर्छ । संसारकै सबैभन्दा उत्तम व्यवस्था गणतान्त्रिक व्यवस्था हो । त्यसमा भएका कमी कमजोरी हटाउनुपर्छ । कोही आजीवन अध्यक्ष बन्ने, सधैँ बृद्धहरुले नेतृत्व गर्ने, एउटै व्यक्तिले पटक पटक टिकट पाउने, पदको दुरुपयोग गर्ने सबैलाई खोजीखोजी कार्वाही हुनुपर्छ । देश युवाको हातमा जानुपर्छ, यसैमा देशको भलाइ छ ।
म यतिबेला राष्ट्रकवि माधवप्रसाद घिमिरेको देशभक्तिपूर्ण गीतको एउटा पङ्क्ति झलझली सम्झिरहेछु–
“नेपालाी हामी रहौँला कहाँ नेपालै नरहे ।”