हाम्रो मुख्य जिम्मेवारी : निष्पक्ष निर्वाचन र संविधानको रक्षा

 

नेपाली कांग्रेस पार्टीमा आबद्ध साथीहरू,
जेन-जी युवाहरूको आह्वानमा भदौ २३ र २४ गते भएको आन्दोलनपछि देश नयाँ चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा छ । नेपाली कांग्रेसका तर्फबाट म र अर्का महामन्त्री विश्वप्रकाश शर्माले भदौ २५ गतेकै दिन संवैधानिक रिक्तता नआओस् भनेर ‘आवश्यकताको सिद्धान्त’ अनुसार वैधानिक बाटोबाट नै राजनीतिक समाधान खोज्न आग्रह गरेका थियौं । हाम्रो प्रस्ताव थियो- संविधान तत्काल संशोधन गरी जेन-जी युवाको मागअनुरूप प्रधानमन्त्री नियुक्त गर्ने र त्यही सरकारमार्फत निर्वाचन सम्पन्न गराउने ।
तर त्यसो हुन सकेन । जुन प्रक्रियाबाट सरकार गठन र संसद विघटन गरियो त्यो संविधानसम्मत छैन भन्ने पार्टीको ठहर गत भाद्र २७ गते बसेको कार्यसम्पादन समितिले सार्वजनिक गरिसकेको छ । त्यही बैठकले नयाँ राजनीतिक यथार्थ, संवैधानिक परिस्थिति र पार्टीले अब अगाडी लिने बाटोको बारेमा पार्टीभित्र र बाहिर व्यापक परामर्श गरी केन्द्रीय कार्य समितिमा छलफल गरी पार्टीको आधिकारिक धारणा तय गरिने निर्णय गरेको थियो ।

यस सन्दर्भमा केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला लगायत सबै तहका साथीहरूको माझ अब नेपाली कांग्रेसले अगाडि लिनुपर्ने बाटोको सम्बन्धमा मेरो प्रस्ताब राखेको छु ।

१) अन्तरिम सरकार गठनसँगै प्रतिनिधिसभा विघटन र निर्धारित समयमा निर्वाचन हुन नसक्दा उत्पन्न हुने रिक्तता राजनीतिक मात्र नभएर संवैधानिक विषय पनि हो।त्यसैले ढिलो चाँडो यो निर्णयको संवैधानिक निरुपण हुने नै छ ।

२) आन्दोलनपश्चात आज जुन राजनीतिक परिस्थिति सिर्जना भएको छ, यो आजको वास्तविकता हो, यसलाई स्वीकार गरौं । अन्तरिम सरकार गठन भैसकेको छ, निर्बाचनको मिति घोषणा भएको छ । एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकोले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔं, यसको निमित्त निर्बाचन गराउने जिम्मेवारी लिएर आएको सरकारलाई सहयोग गरौं । कही कतै यो मूल जिम्मेवारीबाट सरकार बिचलित भयो वा अलमलियो भने खवरदारी गरौं । भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्याकमा ल्याउने आज को मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ, यो कुरा नविर्सौं ।

३) प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रिय सभा, प्रदेश सभार स्थानीय सरकार कायम छन् । संविधानका आधारभूत मूल्य र लोकतान्त्रिक संस्थालाई जोगाउन सचेत खवरदारी गर्नु नै हाम्रो मूल जिम्मेवारी हो ।

४) ⁠ नेपाली कांग्रेसले भदौ २३ गते राज्यद्वारा गरिएको दमन अक्षम्य ठहर गर्दै छानबिनमा सहयोग र दोषीलाई कानून अनुसार दण्डित गराउने प्रतिबद्धता जनाईसकेको छ । त्यसैगरी भदौ २४ र त्यसपश्चातको विध्वंश र आगजनीको वास्तविक क्षति आंकलन गरी दोषिलाई दण्डित गर्न निरन्तर दवाव जारी राख्नुपर्छ ।

५) संघमा राजनीति कहिले सहज होला भनेर नकुरीकन प्रदेश र स्थानीय तहमा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माण तत्काल प्रारम्भ गर्नुपर्छ । नागरिक सेवाप्रवाहमा कुनै कमी हुन नदिन कोभिड महाव्याधिमा जस्तै स्थानीय सरकार, समुदाय र नागरिक समाजसँग सहकार्य गर्दै व्यवस्थापन गर्न अग्रसर हुनुपर्छ । हाम्रो समाज, संविधान र संघीयताको यो आत्मीय पक्षलाई आत्मसात गर्दै पार्टीका सबै तहगत समिति र सदस्यले यथासक्य सघाउन आग्रह गर्दछु ।

६) पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो । संविधान दिवस कै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरु गरौं । जेन-जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्वचयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरूरी छ । हामीले अहिले जे र जसरी गरिरहेका छौं त्यसैको निरन्तरताले मात्र पार्टीको पुनर्निर्माण आरम्भ हुँदैन । पार्टीमा आमूल सुधारका लागि हामीले आफ्नो पदीय जिम्मेवारी छोडेर पनि तयार हुनुपर्छ, नयाँ जोखिम उठाउनका निम्ति तयार रहनुपर्छ। यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु । यसमा छलफल शुरू गरौं । स्वीकार गरौं-गल्ती भएको छ अनि आत्मसमीक्षा, आत्ममुल्याङ्कन र आत्मसंकल्प गरौं ।

अन्त्यमा,
पार्टी सभापति शेरबहादुर देउवा लगायत देशैभरी कांग्रेस र अन्य पार्टीका धेरै साथीहरू, कार्यालय र लोकतान्त्रिक संस्थामाथि अमानवीय ढङ्गले सुनियोजित र सांघातिक आक्रमण भएका छन्, त्यसको हामी घोर निन्दा गर्दछौं । आन्दोलनका क्रममा अहिले पनि अस्पतालमा सयौं घाइते साथीहरू छन् । उनीहरूका शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

अर्कोतिर हामीले नविर्सौं, कलिलो पुस्ताका भाइबहिनीहरू क्रुरतापूर्वक मारिएका छन् । जलेका भौतिक संरचनाको पुनर्निर्माण गर्न सकिन्छ; आन्दोलनमा घुसपैठ गर्ने पात्र र प्रवृत्तिले पनिकठोर दण्ड पाउने निश्चित छ । तर गुमेको जीवन फर्किँदैन । देशको दुर्दशाबाट दु:खी हुँदै स्वतःस्फुर्त आन्दोलनमा उत्रिएका ती युवाहरूले भ्रष्टाचारमुक्त, स्वच्छ र जनमुखी राजनीतिको सपना देखेका थिए । संकल्प गरौं ती निर्दोष भाइबहिनीहरूको बलिदान खेर जाने दिने छैंनौं । जय नेपाल !
२०८२ भदौ ३०

(नेपाली कांग्रेसका महामन्त्री गगन थापाकाे फेसबुकबाट)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट