भरतपुर, २३ भदौ ।
विगत सात वर्षदेखि नारायणघाटको आनन्दमार्गबाट सेवा दिँदै आएको दियालो स्टोर्सले बाह्रघरेचोकबाट पनि सेवा दिन थालेको छ । शुक्रबारदेखि बाह्रघरेचोकमा दियालो मार्टको रूपमा सेवा दिन थालेको हो । घरायसी प्रयोजनको लागि आवश्यक सबै सामग्री एकै ठाउँमा उपलब्ध हुने गरी मार्टको पहिलो शाखा स्थापना गरिएको दियालो स्टोर्सका अध्यक्ष मुकुन्दहरि गौतमले जानकारी दिए ।
चितवन तथा गैँडाकोट क्षेत्रमा होटल व्यवसाय गर्दै आएका व्यक्तिहरुको समूहले मार्ट सञ्चालनमा ल्याएका हुन् । होटल व्यवसायमा बाहिरबाट सामान ल्याएर सेवा दिँदा सोचेजस्तो गुणस्तरीयता नपाएपछि होटल व्यवसाय गर्दै आएकै समूहले सामूहिकरुपमा मार्ट खोल्ने अवधारणा ल्याएको उनको भनाइ छ । सोही अनुसार हाल ९ जना व्यवसायी मार्टमा आवद्ध छन् ।
नेपालमै बसेर नेपाली चुल्हो बाल्ने योजनासहित मार्टको स्थापना गरिएको दियालो स्टोर्सका प्रबन्ध निर्देशक श्याम कँडेलले जानकारी दिए । ‘स्वदेशमै बसेर आफ्नो चुल्हो बाल्ने र अरुको चुल्हो पनि बाल्ने उद्देश्यका साथ हामीले मार्ट खोलेका हौँ,’ उनले भने । मार्ट सञ्चालनकै लागि भरतपुर–८ गौरीगञ्जमा मास्टर सेफ नामको उत्पादन गर्दै आएको उनले बताए ।
मार्टको शुभारम्भ भएपछि भरतपुर महानगरपालिकाको वडा नम्बर ३ र ४ का स्थानीयलाई घरायसी सामग्री खरिद गर्नलाई सहज हुने वडा नम्बर ३ का अध्यक्ष विकाश थापाले बताए । ‘घुम्तीबाट सुरु भएको व्यवसाय, ढोका, सटर हुँदै मार्टमा आइपुगेको छ । यसलाई पनि विकासले फड्को मारेको मान्नु पर्छ,’ वडाअध्यक्ष थापाले भने, ‘यो क्षेत्रमा मार्ट खुल्नु भनेको आजको आवश्यकता पनि हो ।’
तर, मार्टमा स्थानीय उत्पादनको बिक्री वितरणलाई बढी केन्द्रित गर्न उनले सुझाव दिए । ‘अब यत्तिको मार्ट खुलिसकेपछि यो समूहले खेतीपातीलाई पनि अँगाल्नुपर्छ,’ उनले भने, ‘तसर्थ आफैँले उत्पादन गरेको वस्तु बिक्री गर्दा उपभोक्तालाई पनि फाइदा, व्यापारीलाई पनि फाइदा हुन्छ ।’ अर्को कुरा यस्ता मार्ट सञ्चालन हुँदा रोजगारको समेत सिर्जना हुने हुँदा समाजमा सकारात्मक प्रभाव पार्न सक्ने उनको भनाइ छ ।
चितवन उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजन गौतमले १२ घरबाटै बाह्रघरे नाम बस्न गएको उदाहरण सुनाउँदै विगत र वर्तमानमा धेरै परिवर्तन भइसकेको बताए । हिजोका दिनमा जुजुभाइको पसलबाट बाह्रघरे क्षेत्रको बजार विकास भएको उनले बताए । तसर्थ व्यवसायलाई नाफाको रूपमा मात्र नहेरी सेवाको भावले पनि हेरिनुपर्ने उनले बताए । ‘स्वदेशी उत्पादनको प्रयोगमा जोड दिने हो भने स्वदेशमै रोजगारी र स्वदेशी उद्योग सञ्चालनमा टेवा पुग्छ,’ उनले भने ।





