सम्पूर्ण किताबमा दशैँ – तिहार पुस्तक मेला सुरु, छात्रालाई शैक्षिकसामग्री दिएर उद्घाटन

भरतपुर, २३ भदौ

नारायणगढस्थित सम्पूर्ण किताबले सातौँ वार्षिकोत्सवको अवसर पारेर सोमबारदेखि दसैँ–तिहार पुस्तक मेला सुरु गरेको छ । भरतपुर–२४ जगतपुरस्थित सिद्धार्थ माविकी कक्षा ९ की छात्रा सलिना पुरीलाई छात्रवृत्ति प्रदान गर्दै मेलाको उद्घाटन गरिएको हो ।

सम्पूर्णका सञ्चालक लेखराम सापकोटाले हरेक वर्ष एक विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने परम्पराअनुरूप यस वर्ष पनि सलिनालाई छात्रवृत्ति प्रदान गरिएको बताए । उनका अनुसार व्यवसायसँगै सामाजिक उत्तरदायित्व बोध गर्दै सम्पूर्ण किताबले वार्षिकोत्सवलाई सेवा–भावनासँग जोड्दै आएको छ ।

कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले व्यापारीले सेवाभावसहित काम गर्दा समाजमा सकारात्मक परिवर्तन हुने उल्लेख गर्दै सम्पूर्ण किताब लेखक र पाठकबीचको पुल बनेको बताए । उनले चितवनमा नयाँ लेखक उदाउने वातावरण बनाउन सम्पूर्ण किताबले अग्रणी भूमिका खेलेको उल्लेख गरे । लेखक कर्णबहादुर बानियाँले बौद्धिक विकासका लागि लेखक, प्रकाशक, पाठकसँगै वितरक पनि समानरूपमा जोडिनु पर्ने धारणा राख्दै सम्पूर्ण किताब त्यसको उदाहरण भएको बताए ।

त्यसैगरी प्रगतिशील लेखक संघ चितवनकी अध्यक्ष विष्णु तिवारी ‘उषा’ले पठन संस्कृतिको विस्तारमा सम्पूर्णको योगदान अतुलनीय रहेको बताइन् । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुलीले पनि सम्पूर्ण किताबकै प्रेरणाले चितवनमा पछिल्लो दशकमा धेरै लेखक जन्मिएको धारणा व्यक्त गरे । पत्रकारितामा सक्रिय पराजुलीले आफ्नै कृति प्रकाशनसम्मको प्रेरणा सम्पूर्णबाट पाएको स्मरण गरे ।

खाडीमा दुःख सहेर फर्किएका सञ्चालक सापकोटाले आफ्नै देशमै मिहिनेत गरेर स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण पेश गरेको उपस्थित सबैले बताए । उनका अनुसार व्यापारलाई नाफामुखी दृष्टिले मात्र होइन, सामाजिक योगदानसँग जोड्न सके पुस्तक व्यवसाय समाजलाई अझै नजिक ल्याउने छ ।

पसल परिसरमै गरिएको कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवनका पूर्व अध्यक्ष पंकज अग्रवाल, साहित्यकार कर्णबहादुर बानियाँ र सामाजिक व्यक्तित्व नेत्रप्रसाद आचार्यले शुभकामना मन्तव्य राख्दै सञ्चालक सापकोटाको मेहनतको चर्चा गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट