राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अब विदेशी विद्यार्थी र पत्रकारलाई सीमित अवधिका लागि मात्र अमेरिका बस्ने अनुमति दिने निर्णय गरेको छ। नयाँ नियमअनुसार विद्यार्थी भिसामा आउने विदेशीहरू अधिकतम चार वर्षमात्र अमेरिका बस्न पाउने समाचार संस्था एएफपीले जनाएको छ ।
पत्रकारका लागि प्रारम्भिक बसाइ अवधि २४० दिन तोकिएको छ, जसलाई आवश्यक परे थप २४० दिनसम्म लम्ब्याउन आवेदन दिन सकिनेछ । तर, चिनियाँ पत्रकारका हकमा भने बसाइ अवधि ९० दिनमात्र हुने प्रावधान गरिएको छ ।
यसअघि विद्यार्थीको शैक्षिक कार्यक्रम वा पत्रकारको कार्यकालअनुसार भिसा प्रदान गर्ने प्रचलन थियो । अमेरिकी कानुनअनुसार कुनै पनि गैर–आप्रवासी भिसा १० वर्षभन्दा बढी मान्य हुँदैन । होमल्याण्ड सेक्युरिटी विभागले केही विदेशीहरूले अध्ययन अवधि अनावश्यक रूपमा लम्ब्याएर व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्ने गरेको आरोप लगाएको छ ।
सन् २०२३ र २०२४ का शैक्षिक सत्रमा मात्र अमेरिका भित्र ११ लाखभन्दा बढी विदेशी विद्यार्थीलाई भिसा प्रदान गरिएको थियो । अमेरिकी विश्वविद्यालय र कलेजहरूले भने यो कदमलाई अनावश्यक भएको भन्दै आलोचना गरेका छन् ।