काठमाडौं, १२ भदौ ।
नेपाली साहित्य र संगीत क्षेत्रमा सक्रिय कवि तथा गजलकार महेश ‘दोस्ताज’ को शब्दमा तयार भएको गीत ‘यो पागल दुनियाँ’ बिहीबार यूट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतलाई गायक रवि शर्माले स्वर दिएका छन् । गहिरा शब्द र भावनात्मक धुनले भरिएको यस सिर्जनाले जीवनका वियोग, समाजको कठोरता र अस्तित्वप्रतिको चिन्तनलाई प्रस्तुत गरेको छ ।
गीत कवि दोस्ताजको आमाको वियोगान्त स्मृतिमा आधारित छ । यसमा “यो पागल दुनियाँ तिमी पनि आयौ…” जस्ता पंक्तिमार्फत दुनियाँको अस्थिरता र मानव जीवनको अनिश्चिततालाई व्यक्त गरिएको छ । गायक शर्मा आफ्नै खालको आत्मीयता भर्ने प्रयासमा देखिएका छन् भने संगीत संयोजनमा पुष्कर खत्रीको विशेष योगदान छ ।
भिडियो निर्देशन तथा सम्पादन विकास प्रसाईँले गरेका छन् । रंग–रुपमा कल्पेश विश्वकर्मा संलग्न छन् भने कलाकार सञ्जय ढुङ्गाना र ईश्वरी बरालले मुख्य भूमिकामा अभिनय गरेका छन् । साथै अन्य सहयोगी कलाकारहरूले पनि कथावस्तुलाई जीवन्त बनाउन सहयोग गरेका छन् ।
गीत रेकर्डिङ रियाज प्रोडक्सनमा गरिएको हो भने भिडियो निर्माण प्रसाईँ फिल्म्सले गरेको हो । सह–निर्मातामा प्रवीन आचार्य, वर्षा सिंह ठकुरी, गोविन्द खड्का र बाबुकृष्ण प्रसाई रहेका छन् ।
गीत सार्वजनिक हुनुअघि भदौ ७ गते ट्रेलर रिलिज गरिएको थियो, जसले नै दर्शकमाझ उत्सुकता बढाएको थियो । सार्वजनिक भएको केही घण्टामै सामाजिक सञ्जाल र यूट्युबमार्फत गीतले सकारात्मक प्रतिक्रिया पाएको छ । धेरै श्रोताले यसलाई जीवनसँग मेल खाने, आत्मा छुने सिर्जना भएको टिप्पणी गरेका छन् ।
‘यो पागल दुनियाँ’ शब्द, स्वर, संगीत र निर्देशनको सामूहिक योगदानमा बनेको उत्कृष्ट प्रस्तुति मानिएको छ । यसले नेपाली गीत–संगीतमा साहित्यिक संवेदनशीलता र भावनात्मक गहिराइ अझै महत्त्वपूर्ण रहेको प्रमाणित गरेको छ ।