मकवानपुर, १२ भदौ ।
मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा लामा
बामगती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा बुद्द लामा नियुक्त भएका छन् ।
बानियाँ मुख्यमन्त्रीमा नियुक्त भएपछि मन्त्रिपरिषद्ले पूर्णता प्राप्तपछि बिहीबार बसेको पहिलो बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा लामालाई नियुक्त गर्ने निर्णय गरेको हो। लामा नेपाली कांग्रेस मकवानपुर सभापति हुन् ।
यस्तै, बैठकले प्रदेश सरकारको प्रवक्ताकाे जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङलाई दिने निर्णय गरेकाे छ । यसअघि खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ प्रवक्ताको जिम्मेवारी थिए ।
यसैगरी बैठकले ६ जना सचिवको पदस्थापन गर्ने निर्णय गरेकाे प्रवक्ता तामाङले जानकारी दिए । उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा इश्वरचन्द्र मरहठ्ठा, खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालयको सचिवमा इन्द्रदेव भट्ट, युवा तथा खेलकुद विकास मन्त्रालयकाे सचिवमा वीरेन्द्रदेव भारती, श्रम रोजगार तथा यातायात मन्त्रालयको सचिवमा बलराम ढकाल, आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवमा झलकराम अधिकारी र पूर्णबहादुर दर्जी सामाजिक विकास मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
त्यस्तै चितवनको भरतपुर महानगरपालिका र अस्ट्रेलियाको मेरिब्रेक सिटी काउन्सिलबीच भगिनी सम्बन्ध विस्तार गर्न परामर्श सम्बन्धमा निर्णय भएको प्रवक्ता तामाङले बताए ।





