मकवानपुर, १२ भदौ ।
बागमती प्रदेश सभा बैठक आगामी आइतबार बस्ने भएको छ । प्रदेश सभा सचिवालय हेटौंडाले भदौ १५ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरेकाे सूचना प्रकाशित गरेकाे छ ।
प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीद्वारा जारी सूचनामा प्रदेश सभाको छैटौँ अधिवेशनअन्तर्गत बाह्रौँ बैठक प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान गरिएको जनाएको छ ।
बैठकमा प्रदेश मामिला समितीमा विचाराधिन २ विधेयकको प्रतिवेदन पेश हुने कार्यसूची रहेको सभामुख भुवनकुमार पाठकले जानकारी दिएका छन् । उक्त बैठकमा प्रदेश चिठ्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन पेश हुनेछ ।




