भृकुटीमण्डपमा राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी हुने

काठमाडौँ, १२ भदौ ।
नेपालको कृषि तथा पशुपन्छीपालन क्षेत्रलाई यान्त्रिकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुर्‍याउने उद्देश्यले राजधानी काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा मंसिर १२, १३ र १४ गते छैटौँ राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी – २०८२ आयोजना हुने भएको छ ।

नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग मातहत कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रबर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को संयुक्त आयोजनामा हुने प्रदर्शनी `कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि´ भन्ने मूल नाराका साथ सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् ।

संघका अनुसार उक्त प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, डेरी, पुष्प खेती, व्यावसायिक तरकारी खेती, सिंचाई, पोस्ट – हार्भेस्ट, कोल्ड स्टोर, प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित नवीनतम प्रविधि, यन्त्र, उपकरण र बीउविजनसमेत राखिने छ ।

यसैगरी उक्त प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्पादक र विक्रेताहरुको सहभागिता रहने छ । उक्त प्रदर्शनीमा करिब १ सय ५० प्रदर्शनीकर्ताहरु सहभागी हुने र करिब २० वटा मुलुकका २ सय भन्दा बढी स्टलमार्फत २ हजार भन्दा बढी प्रकारका कृषि औजार, उपकरण, यन्त्र र प्रविधि राखिने अनुमान गरिएको छ ।

साथै नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्यहरूलाई विशेष छुटको व्यवस्था समेत हुने छ । प्रदर्शनीको लागि भदौ ४ गते, बुधबारबाट स्टल बुकिङ खुल्ला गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार उक्त प्रदर्शनीमा निःशुल्क अवलोकन गर्न पाउने छन् । यसअघि नेपालमा ५ पटक राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी, एकपटक प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी र एक पटक अन्तराष्ट्रिय एग्रीटेक प्रदर्शनी सफलतापूर्वक सम्पन्न भईसकेको छ ।

छैटौँ राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनीको उद्देश्य :
* कृषि यन्त्र तथा प्रविधि सम्बन्धि विभिन्न क्षेत्रमा काम गरिरहेका उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक, नीति – निर्माता, कृषि विज्ञ र कृषकहरुबीच समन्वय र सहकार्यको वातावरण सृर्जना गर्न

* उपभोक्ता तथा नीति – निर्माताहरुलाई कृषि यान्त्रिकरण सम्बन्धि नविनतम प्रविधिहरुको जानकारी गराउन

* कृषि यन्त्र तथा उपकरणहरुको प्रचार – प्रसारमा वृद्धि गरी कृषि यान्त्रिकरण प्रबर्द्धनमा सहयोग पुर्‍याउन

* व्यावसायिक कृषि प्रणाली सम्बन्धि चेतना अभिवृद्धि गर्न तथा लगानीको अवसर सिर्जना गर्न

* कृषि यान्त्रिकरण, प्रविधि तथा सेवाको आन्तरिक बजार प्रबर्द्धनमा योगदान पुर्‍याउन

* कृषि यान्त्रिकरण व्यवसायी र उपभोक्ताहरुबीच समन्वय गर्न, आदि

लक्षित प्रदर्शनीकर्ता :
* कृषि औजार र उपकरणहरुको उत्पादक, उद्यमी, आयातकर्ता, वितरक, डिलर, सव – डिलरहरु तथा अन्य व्यवसायीहरु

* सरकारी एवं गैर – सरकारी संघ / संस्थाहरु

* कृषक समूह तथा सहकारी संस्थाहरु

* बैंक तथा वित्तीय संस्थाहरु

* अनुसन्धानात्मक संस्थाहरु

* शैक्षिक संस्थाहरु, आदि ।

लक्षित अवलोकनकर्ता :
* विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा वैज्ञानिकहरु
* कृषक, कृषक समूह तथा कृषि सहकारी संस्थाहरु
* सरकारी एवं गैर – सरकारी संस्थाहरु,
* सर्वसाधारण जनमानस
* उद्यमी व्यवसायीहरु
* नीति – निर्माता, आदि ।

नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घ (नामिया) नेपालमा कृषि यान्त्रिकरण तथा प्रविधि सम्बन्धि व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई समेटी नेपालको कृषि यान्त्रिकरण प्रबर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले वि.स. २०७१ सालमा स्थापना भएको गैर नाफामुलक सामाजिक संस्था हो ।

कृषकहरुलाई आधुनिक कृषि यन्त्र, उपकरण तथा प्रविधिहरुका बारेमा जानकारी गराउने उद्देश्यले नेपाल सरकारको कृषि विभाग अन्तर्गत रहेको तत्कालिन कृषि ईन्जिनियरिङ निर्देशनालयले चितवनको भरतपुरमा प्रथम राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी – २०७० आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको थियो । त्यसपश्चात कृषि यान्त्रिकरण प्रदर्शनीलाई निरन्तरता दिँदै नेपाल सरकारको विभिन्न निकायहरु र नामियाको संयुक्त सहकार्यमा अहिलेसम्म ५ पटक राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी, एक पटक प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी र एक पटक अन्तराष्ट्रिय एग्रीटेक प्रदर्शनी सम्पन्न भईसकेको छ ।

विगतका आयोजना गरिएका प्रदर्शनीहरु :
* प्रथम राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी – २०७०, भरतपुर ( चितवन )
* दोस्रो राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी – २०७२, कोहलपुर ( बाँके )
* प्रथम अन्तराष्ट्रिय एग्रीटेक प्रदर्शनी – २०७३, भृकुटीमण्डप ( काठमाडौं )
* तेस्रो राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी – २०७४, धरान ( सुनसरी )
* चौथो राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी – २०७६, भरतपुर ( चितवन )
* पाँचौँ राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी – २०७८, भरतपुर ( चितवन )
* प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी – २०८०, पोखरा ( कास्की )

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट