हंस सहकारीद्वारा स्वास्थ्य सचेतना र तीज विशेष कार्यक्रम

चितवन, ७ भदौ ।
हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बिहिबार मुख तथा दाँत स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम तथा तीज विशेष कार्यक्रम होटेल गंगोत्री पुल्चोकमा सम्पन्न गरेको छ । महिला परिचालन उपसमितिको संयोजनमा र नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखाको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा सहकारीका सञ्चालक, कर्मचारी तथा महिला सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता महिला परिचालन उपसमिताकी संयोजक तथा सहकारी सञ्चालक अनिता मैनालीले गरिन् । कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बिनु रायमाझीले सहकारीहरू केवल आर्थिक क्रियाकलापमा मात्र सीमित नभई स्वास्थ्य, शिक्षा र सामाजिक रुपान्तरणमा पनि महत्वपूर्ण योगदान दिनुपर्ने धारणा व्यक्त गर्दै यस प्रकारका सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधि उदाहरणीय रहेको बताइन् ।
हंस सहकारीकी सेयर सदस्यसमेत रहेकी भर्खरै सहकारी तथा गरिबी निवारण मन्त्री पदमा नियुक्त भएकी माननीय बिनु रायमाझीलाई  महिलामैत्री कार्यक्रमप्रति देखाएको चासोलाई उच्च मूल्याङ्कन गर्दै बधाई ज्ञापनसहित सम्मानसमेत गरिएको थियो ।

विशिष्ट अतिथि तथा हंस सहकारीका अध्यक्ष दिनेश कुमार चुकेले सहकारीलाई सदस्यमैत्री बनाउन स्वास्थ्य, सीप र सामाजिक चेतनासँग जोडिएका कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे । अर्का विशिष्ट अतिथि नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखाका सभापति  तथा हंस सहकारीका लेखा समितिका संयोजक गोविन्दप्रसाद पौडेलले सहकारीसँग सहकार्य गर्दै समुदायमा क्यान्सर रोकथाम तथा दन्त स्वास्थ्य जस्ता क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सहकारीका उपाध्यक्ष बाबुराम अधिकारीले महिलामैत्री कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताए भने पूर्व महिला उपसमिति सदस्य लक्ष्मी लामिछानेले महिलाको सक्रिय सहभागिता र नेतृत्वले मात्र सहकारीलाई दिगो बनाउने विचार राखिन् । अर्की पूर्व सदस्य लक्ष्मी पौडेलले महिलामुखी गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा स्वास्थ्य प्रशिक्षकका रूपमा कान्तिपुर डेन्टल अस्पताल एण्ड रिसर्च सेन्टर, काठमाडौंकी डा. अस्मी पौडेलले मुख तथा दाँतको स्वास्थ्यबारे प्राविधिक प्रस्तुति दिँदै नियमित दन्त परीक्षण, सफाइ र खानपानको सावधानीबारे व्यावहारिक प्रशिक्षण दिएकी थिइन ।

यस अवसरमा सहकारीका कार्यवाहक सचिव प्रा.डा. होमनाथ सापकोटा, सञ्चालक तथा ऋण उपसमितिका सदस्य षडानन्द लामिछाने, सञ्चालक तथा विजयनगर सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक ध्रुवकुमार ओझा, सञ्चालक तथा शिक्षा उपसमितिका संयोजक देशबन्धु अधिकारी, सञ्चालक समिति सदस्य सूर्य बराल, लेखा तथा सुपरिवेक्षण समितिका सदस्य कृष्णहरि तिमल्सेना, प्रबन्धक नारायण प्रसाद सापकोटा लगायत समिति, उपसमिति, महिला सेयर सदस्य र कर्मचारीहरुको  उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन महिला परिचालन उपसमिताकी सदस्य उर्मिला रेग्मीले गरेकी थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट