भरतपुर, ३ भदौ ।
हरितालिका तीज – २०८२ को अवसरमा स्पन्दन नेपालले सोमबार भरतपुरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ४० जना रक्तदाताले स्वेच्छिक रक्तदान गरेका थिए । जसमध्ये १० जना महिला र ३० जना पुरुष सहभागी थिए ।
संस्थाकी अध्यक्ष अनिता खनालको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेल प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि पौडेलले महिलाले नेतृत्व गरेका सामाजिक गतिविधिहरू समाज परिवर्तनका महत्वपूर्ण आधार हुने उल्लेख गर्दै रक्तदानजस्ता जीवनदायिनी कार्यमा सबैलाई सहभागी बन्न आग्रह गर्नुभयो । उहाँले महानगरपालिकाले यस्ता अभियानलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डन प्राडा कृष्णप्रसाद पौडेलले रक्तदान जीवन बचाउने महान कार्य भएकाले महिलाहरूको पहल विशेष प्रेरणादायी भएको टिप्पणी गर्नुभयो ।
त्यस्तै नारायणी पब्लिक स्कुलका प्राचार्य बेदराज पौडेलले रक्तदान अभियानले मानवतावादी मूल्यलाई अझ सशक्त बनाउने बताउनुभयो ।
कार्यक्रममा अन्य अतिथिहरूले पनि महिलाहरूको सक्रियता, सामाजिक उत्तरदायित्व र रक्तदान संस्कृतिको महत्वबारे आफ्ना धारणा राखेका थिए ।





