भरतपुर, २ भदौ ।
प्रसिद्ध कवि एवम् गीतकार प्रेमविनोद नन्दनको निधन भएको छ । आइतबार राति साढे ९ बजेतिर उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उनको निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वासलगायत रोगबाट उनी बिरामी थिए ।
नन्दन गीत, गजल र कविता लेखनमा सक्रिय थिए । चार गीतिसङ्ग्रह, एक लघु काव्य र एक कविता सङ्ग्रह प्रकाशित छन् । वि.सं. २०११ सालमै ‘झटारो’ गीतिसंग्रह प्रकाशन गरेका उनका गीत नेपाली चलचित्रमा पनि समावेश छन् ।
दर्जनौँ गीतहरु चलचित्र क्षेत्रमा ख्याती प्राप्त छन् । उनका गीतिसङ्ग्रहहरु अञ्जली (२०२३), सपनीबाट ब्यूँझेर (२०२३), बिपनीका पाइलाहरु (२०५२), ऐना भित्रको आकाश (२०६३), सिद्धार्थको गृह त्याग लघुकाव्य (२०७४) र पत्रम पुष्पम (कवितासङ्ग्रह) २०७७ प्रकाशित भएका छन् ।
यस्तै राष्ट्रिय गान छनोटका क्रममा उनको गीत उत्कृष्ट १० भित्र पर्न सफल भएको थियो ।
उनले लामो समय बागिश्वरी, दोभान, मारुनी, गोधुुलीलगायतका साहित्यिक पत्रिकाहरु पनि सम्पदान गरेका थिए । अनौपचारिक शिक्षा आर्जन गरेर गीतसंगीत र साहित्यमा लागेका हुन् ।
नन्दनलाई राष्ट्रकवि माधव घिमिरे नेपाली साहित्यका ‘गोलसिमल’ भन्ने गरेका थिए ।
१९९२ साल जेठ १९ गते तनहुँको बन्दीपुरमा जन्मिएका नन्दन बसाइँ सरेर नारायणगढमा बस्दै आएका थिए ।
चितवनको पुरानो सांस्कृतिक संस्था नारायणी कलामन्दिर र दर्जनौँ साहित्यिक संघसंस्थामा नेतृत्व गरिसकेका नन्दन छिन्नलता गीत पुरस्कार, नारायणी प्रज्ञा पुरस्कारलगायतका पुरस्कार र सम्मानबाट सम्मानित स्रष्टा हुन् ।
नन्दनको अन्त्येष्टि सोमबार नै देवघाटमा गरिनेछ । उनको पार्थिव शरीरलाई बिहान ९ बजेदेखि नारायणी कला मन्दिरमा राखेर श्रद्धाञ्जली दिने कार्यक्रम तय गरिएको छ । उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।





