भरतपुर, १ भदौ ।
पठन संस्कृति अभियान अन्तर्गत `म पनि पढ्छु´ कार्यक्रमको दशौँ शृङ्खला भृकुटी बोर्डिङ स्कुल नारायणगढमा गरिएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा आइतबार गरिएको कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीले विभिन्न किताबहरु पढेर समीक्षा प्रस्तुत गरेका थिए । कार्यक्रमको सुरुवातमा वेदराज श्रेष्ठ पुस्तकको समीक्षा गर्न आइपुगे । उनले गिजुभाइको `आमाबाबुको प्रश्न´ पुस्तकको टिप्पणी गरे । पुस्तकमा अभिभावक र सन्तानको सम्बन्ध र जिम्मेवारीबारे राम्रोसँग लेखिएको श्रेष्ठले सुनाए । त्यसैगरी आकृति सिंहले छुदेन काबिमोको `सङ अफ द स्वाइल´ को टिप्पणी सुनाइन् ।

कार्यक्रममा पुस्तक समीक्षा गर्न मोनिका खड्का, स्वस्तिका पर्वत, नान्सिका लामा, रिया गुप्ता, स्मृति ओली, कमिक्षा गुरुङ, सुहाना तामाङ, रिया गुरुङ, नाज्मा खातुन, सिम्रन तामाङ, रोहित गुप्तालगायतका विद्यार्थी प्रस्तुत भए । उनीहरूले डाक्टर गोविन्दराज भट्टराईको मुगलान, गायत्री अधिकारीको वर्तमान, वसन्त पराजुलीको कुमाता र मोम्चोसहित विभिन्न अङ्ग्रेजी किताबको समीक्षा प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीले चितवनका विद्यालयमा पठन संस्कृति अभियान मौलाउँदै गइरहेकोमा खुसी व्यक्त गरे । `सम्पूर्ण किताबले विभिन्न विद्यालयमा पुगेर म पनि पढ्छु कार्यक्रम गरिरहेको छ, यो कार्यक्रमले विद्यार्थीहरुमा अतिरिक्त किताब पढ्ने बानीको विकास भएको छ । यसले गर्दा उनीहरूले धेरै कुरा सिक्न पाएका छन्´, पराजुलीले भने – `अहिलेको शिक्षा भनेको फरक तरिकाले सिक्नु हो, सिकाउनु हो । पठन संस्कृति अभियानको म पनि पढ्छु कार्यक्रम सिकाइको महत्त्वपूर्ण अभ्यास हो ।´
कार्यक्रमका विशिष्ट अतिथि, पत्रकार एवम् लेखक सूर्यप्रकाश कँडेलले विद्यार्थीहरूबाट उच्चस्तरको समीक्षा आएको बताए । पाठ्पुस्तकभन्दा बाहिरका पुस्तक पनि पढ्ने बानी बसाल्नु पर्ने बताउँदै उनले त्यस्ता पुस्तकहरूले ज्ञानको दायरा फराकिलो बनाउने विचार व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक रामजी पाण्डेले आफ्ना विद्यार्थीलाई किताब दिएर यो कार्यक्रममा सहभागी गराइदिएकोमा आयोजक टिमलाई धन्यवाद दिए । सह प्रधानाध्यापक होमनाथ न्यौपानेले विद्यार्थीहरु उत्साहित भएर कार्यक्रममा सहभागी भएकोमा खुसी लागेको बताए । कार्यक्रममा उत्कृष्ट समीक्षा प्रस्तुत गरेका सुहाना तामाङ र रिया गुरुङलाई नगद पुरस्कारले सम्मान गरिएको थियो ।
सम्पूर्ण किताब नारायणगढले अङ्कुरम् एकेडेमी र एक्सपर्ट एजुकेसनसँगको सहकार्यमा चितवन र नवलपरासीका विद्यालयमा पुगेर म पनि पढ्छु कार्यक्रम गरिरहेको छ । जिल्लाका सामुदायिक र संस्थागत विद्यालयमा यो कार्यक्रम नियमितरूपमा गरिरहेको र अभियानले सार्थकता पाएको सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले बताए । कार्यक्रममा सहभागी विद्यार्थीलाई मुना र युवामञ्च पत्रिका पनि उपलब्ध गराइएको थियो ।





