कालपुरुष र वास्तुपुरुषको अवधारणा किन ?

मानव सभ्यताको प्रारम्भदेखि नै समय, दिशा र खगोलको सम्बन्ध बुझ्ने प्रयास हुँदै आएको छ । वैदिक ऋषिहरूले यस सम्बन्धलाई दार्शनिकमात्र होइन, वैज्ञानिक दृष्टिले पनि स्पष्ट गरेका छन् । कालपुरुष र वास्तुपुरुषको अवधारणा यसैको प्रतिरूप हो । जहाँ समय, स्थान र ऊर्जा एउटै सूत्रमा गाँसिएका छन्।

पूर्वी क्षितिजको सूर्योदयसँगै कालपुरुषको परिकल्पना गरिएको छ । पूर्व दिशालाई काल्पनिक कालपुरुषको शिर मानिन्छ भने पश्चिममा सूर्य अस्ताउने स्थानलाई उनका पाद (खुट्टा) मानिन्छ । बीचका भूभागमा उनका अन्य अङ्गहरूको कल्पना गरिएको छ । कालपुरुषको शरीर यस्तो छ कि जसले सम्पूर्ण पृथ्वीलाई समेट्न सक्छ र यसको संरचना दिशाअनुसार एवं खगोलीय गणनासँग मेल खान्छ । मानवीय शरीरको अङ्ग अनुपातलाई आधार मानी कालपुरुषको रूपरेखा तयार गरिएको पाइन्छ ।

कालपुरुषको ‘काल’ शब्द यहाँ ज्योतिषको दार्शनिक पक्षलाई प्रकट गर्दछ । काल अर्थात् समय जसलाई चौंथो आयामको रूपमा लिइएको छ । यसबारे आधुनिक भौतिकशास्त्री स्टिफन हकिङ्ले पनि चर्चा गरेका छन् । न्यूटनको त्रिआयामी भौतिक संसारभन्दा बाहिर समय र अन्तरिक्षको सम्बन्धलाई वैदिक ऋषिहरूले पहिल्यै बुझिसकेका थिए । जब समय र दूरीलाई खगोलीय कोणीय मापनसँग जोडिन्छ तब ग्रह-नक्षत्रको गति र भावी घटनाको चक्र ज्योतिषमार्फत अनुमान गर्न सकिन्छ ।

वैदिक ऋषिहरू मात्र होइन, प्राचीन खगोलविद्हरू पनि समय र स्थानको गहिरो ज्ञान राख्थे । उनीहरूले केवल समयको गणनामात्र होइन । अन्य अदृश्य आयामको चेतनासमेत बोक्ने गर्दथे । यी र यस्ता ज्ञानहरू पछि अध्यात्म र दर्शनको गहिरो विषयका रूपमा विकसित भए ।

जसरी कालपुरुषको शरीर खगोलमा उभिएको छ, त्यसरी नै पृथ्वीको भूभागमा अवतरित भएको रूपलाई वास्तुपुरुष भनिन्छ । तर यहाँ एउटा भिन्नता छ, त्यो के हो भने कालपुरुष उभिएको चार आयामी अवधारणा हो भने वास्तुपुरुष भूमिमा मुख जमिनतर्फ गरेर सुतिरहेको पुमाकार रूप हो । सम्भावित कारण यो हो कि वास्तुपुरुषको शक्ति केवल भूमिक्षेत्रमा सीमित राखिएको हो । यसरी चार-आयामी कालपुरुष त्रिआयामी भूमिकेन्द्रित रूपमा रूपान्तरण भई वास्तुपुरुष बनेको हो । यही कारण सर्वतोभद्र चक्रमा भएका सबै देवता वास्तुचक्रमा हुँदैनन् । कालपुरुषसँग सम्बन्धित सबै देवताहरूको कल्पना वास्तुपुरुषसँग नगरिनु पनि यही कारण हो ।

वैदिक ऋषिहरूले नौ ग्रहको अवधारणा गर्दा केवल त्यस्ता खगोलीय पिण्डलाई स्थान दिए । जसले ज्योतिषीय दृष्टिले ग्रहका गुण पूरा गर्थे । उदाहरणका लागि पश्चिमी खगोलशास्त्रमा प्लुटोलाई लामो समयसम्म ग्रह मानियो तर यसको कक्षीय विशेषता अन्य ग्रहसँग मेल नखाने हुँदा अन्तर्राष्ट्रिय खगोल संघ (IAU) ले यसलाई ग्रहको सूचीबाट हटायो । प्राचीन वैदिक ऋषिहरूले यस यथार्थलाई पहिल्यै बुझेका थिए । त्यसैले उनीहरूले यमलाई नवग्रहमा नराखी गौणचक्र (वास्तुचक्र) मा राखे । वास्तुचक्रको दक्षिणी दिशा यमको अधिकार क्षेत्र मानिन्छ ।

यदि वास्तुचक्र सूर्यसिद्धान्त वा चित्रपक्षी अयनांश गणनामा आधारित छ भने कालपुरुषको अवधारणा स्थायी रहन्छ तर वास्तुपुरुषको अवधारणा परिवर्तनशील हुन्छ । यो परिवर्तन अयनांशको गति अनुसार हुन्छ । जब अयनांशको मान खगोलीय भूमध्यरेखाबाट २२.३०° मा पुग्छ । वास्तुपुरुषको टाउको दक्षिण-पश्चिम कुनातर्फ फर्किन्छ र दक्षिणी अयनांशमा स्थापित हुन्छ । यसरी समय, स्थान र दिशाको सम्बन्धले वास्तुशास्त्र र ज्योतिषबीचको गहिरो सेतु निर्माण गर्दछ ।

कालपुरुष समय र अन्तरिक्षको प्रतीक खगोलीय मापनमा आधारित स्थायी रूपक हो । वास्तुपुरुष भूमिक्षेत्रमा सीमित ऊर्जात्मक संरचना दिशात्मक नियमअनुसार व्यवस्थित रूप हो । वैदिक ग्रन्थ सूर्यसिद्धान्तमा यी अवधारणाका उल्लेख पाइन्छन । जस्तै आधुनिक खगोलशास्त्रमा ग्रहहरूको वर्गीकरण परिवर्तन सम्भव छ । त्यस्तै वास्तु र ज्योतिषमा पनि समयअनुसार गणनागत परिमार्जन सम्भव हुन्छ ।

यसरी कालपुरुष र वास्तुपुरुष केवल धार्मिक वा दार्शनिक प्रतीकमात्र होइनन् । यी ऊर्जा, स्थान र समयको एकीकृत प्रतिरूप हुन्, जसको प्रयोग वैदिक ऋषिहरूले खगोल, गणित, वास्तुकला र अध्यात्मको संगममा गरेका थिए ।

(लेखक न्यौपाने वेद वेदाङ्ग संस्कृत विद्यापीठम् देवघाटधाममा अध्ययनरत हुनुहुन्छ ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट