गैँडाकोट, २० साउन ।
गैँडाकोट नमूना माविका विद्यार्थी आरुष श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको कक्षा १२ को परीक्षामा ३.९६ जिपिए हासिल गर्दै नवलपुर जिल्लामै सर्वश्रेष्ठ नतिजा ल्याएका छन् । श्रेष्ठले विज्ञान संकायबाट यो उल्लेखनीय उपलब्धि हासिल गरेका हुन् ।
विद्यालयका प्राचार्य गोपेन्द्रकेशरी न्यौपानेका अनुसार अहिलेसम्मको उपलब्ध विवरण अनुसार आरुष श्रेष्ठ नवलपुर जिल्लाकै प्रथम विद्यार्थी रहेका छन् । उनले भने – `विद्यार्थीको निरन्तर मिहिनेत, अभिभावकको साथ र शिक्षकहरूको समर्पणले हामीलाई यो सफलतासम्म पुर्याएको हो ।´
त्यसैगरी, सोही विद्यालयका विद्यार्थी आविष्कार गिरीले ३.९५ जिपिए र आयूष घिमिरेले ३.८७ जिपिए प्राप्त गरेका छन् । ती तीनै जना विद्यार्थीले जिल्लाभरिका अन्य प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै आफ्नो प्रतिभा प्रमाणित गरेका छन् ।
विद्यालयको ‘दशजोड २’ संयोजक चन्द्र केसीले उत्कृष्ट नतिजाको श्रेय विद्यार्थी, शिक्षक र अभिभावकको साझा प्रयासलाई दिएका छन् । `हाम्रो टोलीको मेहनत र समर्पणको प्रतिफलस्वरूप प्रत्येक वर्ष झैँ यसपालि पनि गैँडाकोट नमूना माविले जिल्लामा गौरवपूर्ण उपस्थिति जनाउन सफल भएको छ´, उनले भने ।
गैँडाकोट नमूना माविले विगतका वर्षहरूमा पनि लगातार उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको छ । यस वर्षको सफलता विद्यालयको शैक्षिक अनुशासन, समर्पित पठनपाठन र गुणस्तरीय शिक्षण पद्धतिको प्रतिबिम्बका रूपमा देखिएको छ ।




