भरतपुर, १८ साउन ।
लेखक एलबी क्षेत्रीलाई `पाठकको कठघरामा’ उभ्याइएको छ । क्षेत्रीको हालै प्रकाशित यात्रासंस्मरण पुस्तक `अमेरिकामा ४३ दिन´को विमर्श कार्यक्रम अन्तर्गत उनलाई कठघरामा उभ्याइएको अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले बताए ।

शनिबार भरतपुरस्थित भ्याली स्टेट कलेजको चौथो तलाको सभाहलमा कलात्मक ढंगले कठघरा बनाएर लेखक क्षेत्रीलाई राखिएको थियो । चितवनका चारजना प्रबुद्ध समीक्षक डाक्टर एकनारायण पौड्याल, डाक्टर केशवराज चालिसे, उदय अधिकारी र सामना पहाडलाई पाठकहरूको प्रतिनिधित्व गर्दै प्रश्न गर्न भनिएको थियो । उक्त कार्यक्रमलाई अक्षर समूहका सचिव विनोदबाबु रिजालले सहजीकरण गरेका थिए ।

कार्यक्रमको सुरुवातमा समीक्षक उदय अधिकारीले एलबी क्षेत्री जस्ताको तस्तै घटना विश्लेषण प्रस्तुत गर्नसक्ने लेखक भएको बताए । `एलबी सर मनमा लागेको काम पूरा गरेर छाड्ने व्यक्ति हुनुहुन्छ । उहाँ बाहिर जस्तो देखिनुहुन्छ, लेखनमा पनि त्यस्तै हुनुहुन्छ ।´, अधिकारीले भने ।

अर्की समीक्षक सामना पहाडले क्षेत्रीको यात्रासंस्मरणमा महिला पात्रलाई यौन चर्चाका लागि मात्रै राखिएको आरोप लगाइन् । `लेखकले महिला पात्रमाथि न्याय गर्न सकेका छैनन् र कयौं अश्लील शब्दहरु प्रयोग गरेका छन्´, सामना पहाडले भनिन् । उनको प्रश्नको जवाफ दिँदै लेखक क्षेत्रीले भने – `जे देख्यो त्यही लेखेकोले पुस्तक केही पृथक बन्न गएको हो । यौनको बारेमा चर्चा गर्नु, वाइनको बारेमा लेख्नुले पश्चिमा शैलीको जनजीवन छर्लङ्ग भएको छ ।´
लेखक क्षेत्रीले समालोचकलाई कठघराबाट नै प्रतिप्रश्न गरे, ‘ के यौनको बारेमा लुकाएको भए राम्रो हुन्थ्यो त ?’ उनले पुस्तकमा आफू साधुसन्त जस्तो बन्न नचाहेको पनि बताए ।
कार्यक्रममा डा.केशवराज चालिसेले `अमेरिकाको नेपाली समाजलाई जस्ताको तस्तै पस्किँदा भविष्यमा अप्ठ्यारो त पर्दैन ?´ भन्ने प्रश्न राखे । उत्तरमा कृतिकारले जे देखियो त्यही लेखियो भन्दै सामाजिक यथार्थ लेख्दा कुनै समस्या नपर्ने बताए ।
डा. एकनारायण पौड्यालको प्रश्न थियो – `अमेरिकामा ४३ दिन पूर्वतयारीका साथ लेखिएको हो ?´ पौड्यालको यो प्रश्नको जवाफमा क्षेत्रीले आफूले करिब चार दशकदेखि डायरी लेख्न थालेको र आगामी दिनमा बेलायत र अष्ट्रेलिया भ्रमणको बारेमा वर्णन गर्दै कृति प्रकाशन गर्ने योजना रहेको सुनाए ।
कार्यक्रमको पहिलोखण्डमा कवि, आख्यानकार भूपिनले गैरआख्यान साहित्यको सैद्धान्तिक विवेचनाबारे विद्वत् प्रवचन प्रस्तुत गरेका थिए । उनले गैरआख्यानमा निबन्ध उत्कृष्ट विधा भएको बताए । भूपिनले ११ पृष्ठमा तयार गरिएको सैद्धान्तिक विवेचनालाई संक्षिप्तरुपमा प्रस्तुत गर्दै विश्वमा गैरआख्यान साहित्यको विकासक्रमबारे पाठकलाई अवगत गराए । उनले निबन्ध विधा सबैभन्दा बढी समाजवादी विधा भएको बताए । उनले विभिन्न साहित्यकारको भनाइलाई उधृत गर्दै भने, ‘ निबन्ध, वृहत् र लचिलो विधा हो । लेखाइमार्फत् जति पनि उड्न सकिन्छ । निबन्धलाई तार्किक, काब्यिक, नाटकीय निबन्ध र आख्यानात्मक निबन्ध गरी चार प्रकारमा वर्गीकरण गर्न सकिन्छ ।’ भूपिनले नेपाली निबन्धलाई ५ कालखण्डमा वर्गीकरण गर्दै कविता र कथा लेखनमा लामो समयदेखि सक्रिय एलबी क्षेत्रीलाई कान्छा निबन्धकारका रूपमा उभ्याए ।
कार्यक्रमका प्रमुख अतिथि, प्रसिद्ध नियात्राकार तथा उद्यमी जीवा लामिछानेले डायस्पोरा तथा विदेशमा बसोबास गर्ने नेपालीहरूको मनोदशा, अनुभव र चुनौतीबारे संक्षिप्त धारणा राखेका थिए । लामिछानेले संस्मरण लेखनको सामाजिक र साहित्यिक महत्व बारेमा प्रकाश पारेका थिए ।





