बागमतीका मुख्यमन्त्री लामाद्वारा राजीनामा घोषणा

मकवानपुर, १८ साउन ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामाको घोषणा गरेका छन् ।

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले  राजीनाको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री लामाले आफू इमानदार भएको कारण यस्तो परिस्थिति आइपरेको बताए ।

मुख्यमन्त्री लामा ८ साउन २०८१ मा मुख्यमन्त्री नियुक्त हुँदै त्यसको भोलिपल्ट अर्थात् ९ गते पद तथा गोपनियताको शपथ खाएर कार्यभार सम्हालेका थिए ।

नेपाली कांग्रेस संसदीय दलभित्रकै आन्तरिक द्वन्द्वका कारण मुख्यमन्त्री लामाले राजीनामा दिनुपर्ने स्थिति सिर्जना भएको थियो । तत्कालीन कांग्रेस संसदीय दलका नेता रहेका लामाविरुद्ध २१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

सो प्रस्तावमाथि मतविभाजन गर्दा २२ सांसदले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेपछि संसदीय दलको नेताका लागि निर्वाचन भएको थियो ।

साउन १४ गते बुधबार दिउँसो बागमती प्रदेश सभा परिसरमा भएको संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँ २२ मतसहित निर्वाचित हुँदा लामा  ८ मतान्तरले पराजित हुनुपरेको थियो ।

संसदीय दलका नेताबाट पदमुक्त भएपछि उनले नैतिकताको आधारमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने चौतर्फी आवाज उठेको थियो ।

संवैधानिक व्यवस्था पल्टाउँदै लामाले राजीनामा नदिने अटेर भने नगरेका होइनन् । तर कांग्रेस सभापति शेरबहादुर देउवाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएपछि लामा राजीनामा दिन तयार भएका थिए ।

लामाले राजीनामा दिएसँगै बागमतीमा अब नयाँ नेतृत्वको सरकार गठन हुनेछ । कांग्रेस संसदीय दलका नव निर्वाचित नेता बानियाँलाई मुख्यमन्त्री बनाउन प्रक्रिया अघि बढ्नेछ ।

उनी बागमती प्रदेशका छैटौं मुख्यमन्त्री हुनेछन् । नेकपा एमाले र नेपाली कांग्रेस बीच २०/२० महिना बागमती प्रदेशको मुख्यमन्त्री  बन्ने सहमतिअनुसार बहादुरसिंह लामाले १२ महिना प्रदेश सरकारको नेतृत्व गरिसकेका छन् ।

अब नियुक्त हुने बानियाँले ८ महिना बागमती प्रदेशको मुख्यमन्त्री पद सम्हाल्ने छन् । सो पश्चात् नेकपा एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने सहमति छ ।

केन्द्रमा प्रधानमन्त्री परिवर्तन हुँदा बागमती प्रदेश सरकारमा एमालेले मुख्यमन्त्री पद लिनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट