रेडियो संकेतले गैंडाकोटमा खुला तीज गीत प्रतियोगिता गर्ने

गैंडाकोट, ५ साउन ।
नेपाली नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा रेडियो संकेत ९३ मेगाहर्जले बृहत खुला तीज गीत प्रतियोगिता – २०८२ आयोजना गर्ने भएको छ । जिल्लाभरिका नयाँ तथा पुराना कलाकारहरूको प्रतिभा उजागर गर्न साउन २५ गते कार्यक्रमको आयोजना गर्न लागिएको बताइएको छ ।

रेडियो संकेतका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले तीज पर्वले महिलाहरूबीच आत्मीयता, सांस्कृतिक भाव र सामूहिक चेतनालाई अभिव्यक्त गर्ने माध्यम भएको बताए । `तीज केवल गीत र नृत्यको उत्सव मात्र नभई महिलाहरूको भावना, पीडा र खुशी अभिव्यक्तिको सशक्त माध्यम पनि हो´, उनले भने – `यस्ता प्रतियोगिताले प्रतिभालाई प्रोत्साहन गर्छ ।´

रेडियोका स्टेसन म्यानेजर तथा कार्यक्रम संयोजक सुजन अधिकारीका अनुसार प्रतियोगितामा सांस्कृतिक पहिचान सहितका भेषभुषा, गायन शैली र प्रस्तुतिका आधारमा विजेता छनोट गरिनेछ । `हामी संगीत क्षेत्रमा लाग्न चाहने नवप्रवेशी र अनुभवी दुवैलाई प्रोत्साहन गर्न चाहन्छौँ´, उनले भने – `यस कार्यक्रममार्फत नवलपुर जिल्लाभरिका प्रतिभाहरू एकै मञ्चमा देखिन पाउनेछन् ।´ उक्त प्रतियोगितामा सहभागी सम्पूर्ण महिला समूह हरूले मौलाकाली केवलकार लिमिटेडका तर्फबाट दुईतर्फी टिकट निःशुल्क र गैडाकोट फन पार्कमा स्विमिङ टिकट प्राप्त गर्नेछन् ।

प्रतियोगिताका लागि रेडियो संकेतले प्रथम पुरस्कार रू. १०,०००, द्वितीय पुरस्कार रू. ७,०००, तृतीय पुरस्कार रू. ५,००० र सान्त्वना पुरस्कार रू. ३,००० तय गरेको छ । निर्णायक मण्डलले गीतको मौलिक भेषभूषा, शब्द सन्देश, लय र प्रस्तुतिका आधारमा विजेता छनोट गर्नेछ ।

प्रतियोगितामा सहभागी हुन चाहने कलाकारहरूले तीज सम्बन्धी मौलिक वा सन्देशमूलक गीत लिएर रेडियो संकेतमा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । यस कार्यक्रमले तीज पर्वको सांस्कृतिक महत्वलाई थप बलियो बनाउँदै प्रतिभाहरूलाई नयाँ उचाइ दिन सहयोग पुग्ने विश्वास लिइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट