भरतपुर, २१ असार ।
चितवनमा तीन वटा गजलसङ्ग्रह सार्वजनिक भएका छन् । गजल मञ्च चितवनका पूर्व अध्यक्ष रमेश प्रभातको सम्पादन तथा गजल मञ्च चितवनद्वारा प्रकाशित गजलकार किसान प्रेमीको ‘अन्जानमा गयौ कि !´, मञ्चका हालका अध्यक्ष रामकृष्ण अनायासको ‘अनायास’ र कोषाध्यक्ष सरस्वती पौडेलको ‘प्रत्यूष ‘ गरी तीनवटा गजलसङ्ग्रह एकैसाथ विमोचन गरिएको हो ।
गजल मञ्च चितवनले शनिबार भरतपुरमा आयोजना गरेको `सेन्ट्रल कलेज गजल उत्सव – अग्रजका गजल´ कार्यक्रममा प्रमुख अतिथि केशवराज आमोदी, विशिष्ट अतिथि प्रकाश अधिकारी र रमेश प्रभातले संयुक्तरूपमा कृति विमोचन गर्नुभएको हो । विमोचनपछि तीन वटै कृतिका बारेमा रमेश प्रभातले समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । प्रभातले समीक्षासँगै चितवनको समग्र गजलको इतिहास प्रस्तुत गरेका थिए । देवघाटमा अध्ययनरत बटुक रोहन रेग्मीले स्वस्ती पाठ गर्दै कृति विमोचन गरेर कार्यक्रम उद्घाटन गरिएको थियो ।

कृति विमोचनपछि खुला गजलवाचन गरिएको थियो । सोक्रममा किसान प्रेमी, पुष्प अधिकारी अञ्जलि,
लेखराम सापकोटा, बालकृष्ण थपलिया, इन्द्रप्रसाद रेग्मी, गणेश शर्मा पौडेल, लकाश पौडेल, राजेन्द्र घायल, भुपिन खड्का, प्रशान्त सागर, डिल्लीराम बराल, गिरिराज अधिकारी, सूर्यप्रकाश कँडेल, विद्या भण्डारी चिराग, विष्णु उषा तिवारी, कृष्ण विश्वकर्मा कम्रेड सतिसाल, रामशरण थपलियालगायतले गजल सुनाएका थिए । गजल मञ्च चितवनका सदस्य प्रवीण सन्नाटाले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई सचिव प्रमिला सानुले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा २०० बढी सहभागीले चाख मानेर गजल सुनेका थिए ।