चितवन, २० असार ।
भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेको `महानगर साहित्य दर्पण–४´ र `महानगर वाङ्मय कोश´ विमोचन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रज्ञाका उपकुलपति ईन्द्रप्रसाद रेग्मी, शिक्षा महाशाखा प्रमुख सुवाषचन्द्र आचार्यले संयुक्तरुपमा विमोचन गर्नुभयो ।
कृतिमा चितवन जिल्लाका कवि, लेखक, पत्रकार, समालोचक र अन्वेषकका विभिन्न सामग्रीहरू संग्रहित छन् ।
महानगर वाङ्मय कोशमा चितवनका कला, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने साहित्यकार, कलाकार, संगितकारहरुको चिनारी समावेश गरिएको छ । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति ईन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा भवनाथ सडौलाले समग्र कृतिको टिप्पणी राख्नुभएको थियो । प्रकाश चापागाईंले विषयवस्तु प्रकाश पार्नुभयो भने विष्णुदेवी तिवारी उषाले स्वागत मन्तव्य राख्नुभयो । रत्ननगर वाङ्मय प्रतिष्ठानका सदस्य सचिव विश्वनाथ खनाल, चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डितले शुभकामना मन्तव्य राख्नुभएको थियो ।