सरला जोशीको कथासङ्ग्रह `सपनाको देश´ सार्वजनिक

भरतपुर, ८ असार ।
सरला जोशीको कथासङ्ग्रह `सपनाको देश´ सार्वजनिक भएको छ । चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित, उदय अधिकारी, सरस्वती रिजाल, सामना पहाड र शिव जोशीले संयुक्तरूपमा कृति विमोचन गर्नुभएको हो । चितवन साहित्य परिषद्ले प्रकाशन गरेको कृतिमा १५ वटा कथा छन् ।

पुस्तक सार्वजनिक गरिएपछि विमर्श गरिएको थियो । विमर्श कार्यक्रममा बोल्दै टिप्पणीकार सामना पहाडले सङ्ग्रहका १५ वटा कथामध्ये अधिकांशमा नारी पात्रको बलियो उपस्थिति रहेको बताउनु भयो । `मेरी आमा र दिदीबहिनीका कथा यसमा छन्, मलाई मेरै घरको कथा पढेजस्तो लाग्यो´, सामनाले भन्नुभयो ।

त्यसैगरी उदय अधिकारीले सङ्ग्रहका सबै कथा सरल भाषामा लेखिएको बताउनु भयो । `कथामा स्थानीयता, आत्मकथ्य, यथार्थता, प्रेम प्रसङ्ग र वैदेशिक यात्राका सन्दर्भ पनि छन्´, अधिकारीले भन्नुभयो ।

प्रमुख अतिथि सरस्वती रिजालले मन्तव्य राख्दै सपना जतासुकै भएको र छिरलिएको बताउनु भयो । `सपना नभएको मान्छे हुँदैन । प्रत्येक मान्छेसँग सपना छ, कथा छ । प्रत्येक मान्छे आफैँमा पूर्ण छ´, रिजालले भन्नुभयो – `जतिसुकै सपनाका कुरा गरौँ, प्रेमका कुरा गरौँ, स्वप्रेम सबैभन्दा ठुलो कुरा हो ।´ रिजालले सङ्ग्रहका सबै कथा सकारात्मकरूपमा टुंगिएका बताउनु भयो । `सपनाको देशका कथामा समझदारी छ, विद्रोह छैन´, उहाँले भन्नुभयो ।

कार्यक्रममा महेन्द्रलाल प्रधान, शिव जोशी, विष्णु तिवारी उषा र रोहित श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो । चितवन साहित्य परिषद्का उपाध्यक्ष गणेश श्रमणले शुभकामना मन्तव्य राख्नुभएको थियो भने पूर्वअध्यक्ष सुरेन्द्र अस्तफलले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै कथाकार सरला जोशीले अस्ट्रेलियामा रहेकी छोरीको सहयोगमा सपनाको देश कथा लेखेको सुनाउनु भयो । जोशीका यसअघि अन्तिम स्वीकार (उपन्यास २०५८), शब्दको सुवास (गजलसङ्ग्रह २०६३), वृध्दाश्रमको यात्रा (कवितासङ्ग्रह २०७४) र सपनाको देश (कथासङ्ग्रह, २०८२) प्रकाशित छन् ।

४३५ रुपैयाँ मूल्य रहेको यस कृतिको वितरण सम्पूर्ण किताब नारायणगढले गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट