मकवानपुर, ६ असार ।
हेटौंडामा राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने भएकाे छ । नेपाल स्पोर्ट सेन्टर (नेकोस) ले शनिबारबाट हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता आयोजना गर्ने भएकाे हाे ।
नेकोसले खेलकुद महोत्सव अन्तर्गत बागमती प्रदेशको राजधानी हेटौंडामा प्रतियोगिता गर्न लागिएकाे शुक्रबार पत्रकार भेटघाट गरी जानकारी दिएकाे छ । दुवै प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत महिला भलिबलमा प्रथम हुने टिमले ५ लाख रुपैयाँ, द्वितीय हुनेले ३ लाख रुपैयाँ, तृतीयले १ लाख रुपैयाँ तथा सान्त्वनाले ५१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।त्यस्तै प्रत्येक विधामा नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएकाे छ । त्यस्तै स्केटबोर्ड प्रतियोगितामा प्रथम हुने टिमले १० हजार, द्वितीय ५ हजार र तृतीय ३ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
भलिबल प्रतियोगितालाई नेपाल स्पोर्ट सेन्टर आफैले र स्केटिङ प्रतियोगितालाई नेपाल स्केटिङ तथा स्केटबोर्डिङ सङ्घले संयोजन गर्ने नेकोसका अध्यक्ष अनिल कुमार रिजालले जानकारी दिए ।नेपालको खेल क्षेत्रको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएकाे उनले बताए ।
उनका अनुसार लिग कप नकआउट अन्तर्गत भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यू डाइमण्ड युथ स्पोर्टस क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका गरी ६ वटा महिला खेलाडी टोली सहभागी हुनेछन् । त्यस्तै स्केटबोर्ड प्रतियोगितामा देशभरका १२ वर्षमुनिका महिला र पुरुष तथा १२ वर्षमाथिका महिला र पुरुष गरी ४ विधामा १५० जना खेलाडीको सहभागिता रहनेछ ।
महिला भलिबलको असार ७ गते शनिबार दिउँसो ३ बजे हुप्राचौरस्थित भलिबल ट्रेनिङ सेन्टरमा र स्केटबोर्ड असार ८ गते आइतबार बिहान ७ बजे हेटौंडा स्थित पुष्पलाल रोडको स्केटिङ पार्कमा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।
प्रतियोगिताको समापन ११ असारमा हेटौंडाको हुप्रचौरमा हुने छ । अध्यक्ष रिजालका अनुसार दुवै प्रतियोगितामा करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।





