भरतपुर, ६ असार ।
समालोचक रमेश प्रभातको दोस्रो निसमालोचनासङ्ग्रहको सन्दर्भमा रहेर `सर्जकहरुको अभिमत´ सुनिएको छ ।

असार ६ गते समालोचक रमेश प्रभातको जन्मदिन कै अवसरमा सार्वजनिक कृति `अरू अलिकति फरक कुरा’ माथि आफ्ना भनाइ राख्दै भरतपुरका सर्जकहरूले लेखकलाई केही सुझाव दिएका छन् । गजल मञ्च चितवनले शुक्रबार सम्पूर्ण किताब नारायणगढमा आयोजना गरेको कार्यक्रममा सर्जकहरूले सुझाव दिएका हुन् ।
अरू अलिकति फरक कुरा समालोचक प्रभातको दोस्रो निसमालोचनासङ्ग्रह हो । यसमा रहेका २९ वटा निसमालोचनामध्ये १५ वटा चितवनका सर्जकहरूका कृतिमाथिका निसमालोचना छन् । यसअघि प्रभातको निसमालोचनासङ्ग्रह अलिकति फरक कुरा प्रकाशित भएको छ ।
आयोजक संस्था गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई मञ्चका निवर्तमान अध्यक्ष लेखराम सापकोटाले सञ्चालन गरेका थिए ।
कार्यक्रममा सर्जकहरू सुरेन्द्र अस्तफल, किसान प्रेमी, गणेश श्रमण, उदय अधिकारी, उपेन्द्र त्रिपाठी, विद्या भण्डारी चिराग, विनोदबाबु रिजाल, सूर्यप्रकाश कँडेल, पदम अर्याल, वसन्त पराजुलीलगायतले बोलेका थिए । पुस्तकलाई गजल मञ्च चितवनले प्रकाशन गरेको हो । मूल्य ३०० रुपैयाँ छ । वितरकको रूपमा सम्पूर्ण किताब नारायणगढ रहेको छ ।