रैथाने कागुनो खाँदै त्रिपुरेश्वरले मनायो कृषक दिवस

भरतपुर, १ असार ।

भरतपुर महानगरपालिका कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन शाखाको आर्थिक सहयोगमा भरतपुर -९ स्थित श्री त्रिपुरेश्वर कृषि सहकारी संस्था लिमिटेडले आज एक कार्यक्रमका बीच रैथाने बाली कागुनोको खिर खाँदै कृषक दिवस मनाएको छ।

बढ्दो विषादीको न्यूनीकरण गरी स्वस्थ र स्वच्छ तरकारी उत्पादन गरी भान्सा सुधार गर्ने अभिप्रायले २०८१ साल फागुन २० गतेदेखि २०८२ साल जेठ २९ गतेसम्म सञ्चालित एकीकृत शत्रु जीव व्यवस्थापन (आई‌.पि.एम.)पाठशालामा बसन्ते बाली (करेला)मा तालिम सञ्चालन भएको थियो। आई.पि.एम. तालिम प्रशिक्षक रमा ढुङ्गानाले सहजीकरण गर्नुभएको उक्त तालिम श्रीप्रसाद ढुङ्गानाको संयोजकत्वमा भएको थियो।

आई.पि.एम. पद्धतिमा रोग कम लाग्ने, उत्पादन बढी हुने र लामो समयसम्म फलिरहने हुँदा सो कार्य वडाका सम्पूर्ण समुदायको माझ पुर्‍याए मात्र यो तालिमको सार्थकता हुनेछ भने सो कार्यको लागि वडा कार्यालय परिवार आवश्यक बजेट व्यवस्था गर्न तयार रहेको समेत कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर -९ का वडा अध्यक्ष यमलाल कडेलज्यूले बताउनुभयो। महानगरको कृषि विकास, स्वस्थ उत्पादन सँगसँगै महानगरबासीहरूको भान्सा सुधार गर्नको लागि महानगरले प्रत्येक वर्ष आई.पि.एम. कृषक पाठशाला सञ्चालनमा बजेट व्यवस्थापन गर्दै आएको कुरा कार्यक्रमका विशिष्ट अतिथि एवं भरतपुर महानगरपालिका, आर्थिक विकास महाशाखा प्रमुख श्री तेजेन्द्र प्रसाद पौडेलज्यूले बताउनुभयो। सहकारीले सधैँ रैथाने बालीसँगै सदस्यहरूको स्वास्थ्यलाई ख्यालमा राख्ने कृषि र जनचेतनासँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै आएको र रैथाने बालीहरूको संरक्षणमा अगाडि बढेको समेत सहकारी संस्थाका अध्यक्ष वेदप्रसाद सापकोटाज्यूले बताउनुभयो ।

उक्त कार्यक्रममा भरतपुर महानगरपालिका, कृषि शाखाका प्रमुख प्रकाश न्यौपाने जैसी, भरतपुर महानगरपालिका वडा नम्बर ९ कि वडा सदस्य कोपिला दुरा, चित्रबहादुर न्यौपाने, सुरज प्रताप राणा, आई. पि.एम. जिल्ला संघका अध्यक्ष धर्मराज कंडेल, सल्लाहकार रिता बस्ताकोटी, सदस्य शोभा पण्डित, लिला बल्लभ भुसाल, इन्दु कँडेल, सुशीला खाँड, आदिको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सहभागी मध्येका उत्कृष्टहरुलाई पुरस्कृत गर्नुको साथै आई.पि.एम. प्रशिक्षक रमा ढुङ्गानालाई कदरपत्रद्वारा सम्मान समेत गरिएको थियो।

विष्णुमाया भण्डारीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा सहभागीको तर्फबाट हिरा तिमल्सिनाले आफ्ना भनाइहरू राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहकारीका कोषाध्यक्ष हरिभक्त शर्माले गर्नुभएको थियो।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट