रत्ननगर, ३१ जेठ ।
रत्ननगर नगरपालिकाको कार्यालय अन्तर्गतको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको आयोजनामा यहि असार १ गते रत्ननगर-१६ स्थित भद्रकाली माध्यमिक विद्यालयमा घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन हुने भएको छ ।
नगरपालिकाले व्यक्तिगत घटना दर्तालाई शतप्रतिशत सुनिश्चित गर्ने लक्ष्यका साथ उक्त विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विद्यार्थीहरु र जनप्रतिनिधिहरुका लागि घटना दर्ता तथा पञ्जीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्ने भएको हो ।
कार्यक्रममा जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदजस्ता महत्त्वपूर्ण व्यक्तिगत घटनाहरूको दर्ताको महत्त्व, प्रक्रिया, कानुनी पहिचान र राज्यबाट प्राप्त हुने सेवासुविधालगायतका विषयमा जानकारी दिईनेछ ।
कार्यक्रम नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले सहजीकरण गर्नुहुनेछ ।
यो अभियानले विद्यालय तहका विद्यार्थीहरुमा घटना दर्ताको महत्त्वबारे सचेतना फैलाउन र कानुनी पहिचान सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान पुग्ने बस्ताकोटीले जानकारी गराउनुभयो ।
अभियान अन्तर्गत असार पहिलो हप्तामा रत्ननगरका तीन वटा सामुदायिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन हुनेछ । जस अन्तर्गत असार १ गते रत्ननगर-१६ स्थित भद्रकाली माध्यमिक विद्यालय, असार ३ गते रत्ननगर-८ स्थित चित्रसारी माध्यमिक विद्यालय र असार ५ गते रत्ननगर-८ स्थित मालपुर माध्यमिक विद्यालयमा सो कार्यक्रम सञ्चालन गरिने बस्ताकोटीले जानकारी गराउनुभयो ।
यस अघि नगरपालिकाको सो शाखाले नगरभित्रका विभिन्न वडामा पुगेर सम्बन्धित टोल विकास संस्थाहरूसँग समन्वय गरी स्थानीयको सक्रिय सहभागितामा घट्ना दर्ता तथा पञ्जीकरण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।





