मकवानपुर, ३१ जेठ ।
बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ ।
शुक्रबारको प्रदेशसभामा पेश गरिएको प्रदेश सरकारको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत रहने अनुमान गरिएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेशको समग्र आर्थिक स्थितको प्रतिवेदन सभामा प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा बागमती प्रदेशको कुल ग्राहस्थ उत्पादन २२ खर्ब ३० अर्ब रुपैयाँ रहने प्रारम्भिक अनुमान गरिएको छ ।
मन्त्री काफ्लेका अनुसार प्रदेशले राष्ट्रिय तहको कुल ग्राहस्थ उत्पादनमा ३६.५२ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ । चालू आर्थिक वर्षमा पनि प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादनमा प्रदेश अगाडी रहने प्रारम्भिक अनुमान गरिएको छ ।
बागमती प्रदेशका नागरिकको प्रतिव्यक्ति आय २ हजार ६०२ अमेरिकी डलर रहेको छ । प्रदेशको कुल ग्राहस्थ उत्पादन उपभोक्ताको मूल्यमा २२ खर्ब ३० अर्ब रहने अनुमान गरेको छ ।
प्रदेश सरकारको चालु आर्थिक वर्षको फागुनसम्मको खर्च २५.६२ प्रतिशत पुगेको छ । चालु तर्फ ३५.२२ प्रतिशत खर्च भएको छ भने पुँजीगत तर्फ १९.९४ प्रतिशत मात्र खर्च गरिएको छ ।
नेपाल राष्ट्र बैङ्कले सुरु गरेको प्रदेशगत मुद्रास्फीति प्रकाशन अनुसार, फागुन महिनामा बागमती प्रदेशको मुद्रास्फीति दर २.९८ प्रतिशत रहेको छ ।
नेपाल जीवनस्तर सर्वेक्षण अनुसार, बागमती प्रदेशमा गरिबीको रेखामुनिको जनसङ्ख्या १२.५९ प्रतिशत, बहुआयामिक गरिबी ७ प्रतिशत, गरिबिको गहनता ०.८९ प्रतिशत र फैलावट १२.६८ प्रतिशत रहेको छ ।
६ वटा समितिको प्रतिवेदन पेश
बागमती प्रदेशसभामा ६ वटा विषयगत समितिको प्रतिवेदन पेश गरिएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा ६ वटा संसदीय समितिको विषयगत वार्षिक प्रगति प्रतिवेदन पेश भएको हो ।
प्रदेश मामिला समिति सभापति छिरिङ दोर्जे लामा, सार्वजनिक लेखा समिति सभापति श्रीराम लामिछाने, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकाल, उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, अर्थ तथा विकास समिति सभापति नुरज श्रेष्ठ र विशेषाधिकार समिति सभापति मायादेवी शर्माले वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
यसैगरी प्रदेश चलचित्र विकास सम्बन्धी विधेयकलाई विषयगत समितिमा पठाउन बैठकले स्वीकृति प्रदान गरेको छ ।





