काठमाडौं, २८ जेठ ।
रक्त व्यवस्थापन तथा सामाजिक सेवामा विशिष्ट योगदान पुर्याउँदै आएका सामाजिक अभियन्ता अर्जुन अधिकारीलाई काठमाडौंमा आयोजित एक विशेष समारोहमा दुई अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको छ ।
जेठ २४ गते काठमाडौंको होटल शंकरमा आयोजित समारोहमा स्विट्जरल्यान्डको लुगानो क्षेत्रीय पर्यटन बोर्डका अध्यक्षले अधिकारीलाई सम्मानपत्र प्रदान गरे । सोही अवसरमा MIG Italy र World Kindness Movement को संयुक्त पहलमा उनलाई Ambassador of Kindness Between Italy and Nepal को प्रतिष्ठित उपाधिबाट सम्मानित गरिएको हो ।
सम्मान ग्रहणपछि अभियन्ता अधिकारीले आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भने- `यो मेरो र मेरो कर्मका लागि गर्वको विषय हो, यसर्थ सेवा मानवताको अभियानलाई थप जोश र जाँगरका साथ अघि बढाउनेछु ।´
उक्त समारोहमा प्रमुख अतिथिको रुपमा माननीय अर्जुननरसिंह केसी एवम् विभिन्न संस्थाका प्रतिनिधिहरू, सामाजिक अभियन्ता, उद्यमी, व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
अधिकारी हाल ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्षको जिम्मेवारीमा रहेर विगत लामो समयदेखि रक्त व्यवस्थापनमार्फत हजारौं व्यक्तिलाई सहयोग गरिसकेका छन् । उनले देशव्यापी रक्तदान उत्प्रेरणाका अभियानहरु सञ्चालन गरेका छन् ।




