भरतपुर, २० जेठ ।
चितवन, तनहुँ र नवलपरासीकाे सङ्गम देवघाटधामबाट दामोदरकुण्डसम्म ऐतिहासिक कालीगण्डकी पदयात्रा गरिने भएको छ । धार्मिकस्थल देवघाटस्थित महेश सन्यास आश्रमको संयोजनमा जेठ २२ गतेदेखि शालिग्राम करिडोरको ४३१ किलोमिटर दूरीको पदयात्रा गरिने भएको हो ।
जनस्तरमा गण्डकीको महत्व र सम्भावनालाई प्रचारप्रसार गरेर कालीगण्डकी, तिनका किनारमा अवस्थित सिद्ध तीर्थस्थल र समग्र कालीगण्डकी सभ्यताको संरक्षण तथा संवर्धनमा टेवा पुर्याउने उद्देश्यले पदयात्रा आयोजना गरिएको महेश संस्कृत गुरुकुलका प्राचार्य एवं पदयात्राका संयोजक फणीन्द्रप्रसाद पौडेलले जानकारी दिए । यसैगरी कालीगण्डकीको महत्व र उपयोगिताको प्रचार–प्रसार शालिग्राम र गण्डकीतीर्थहरूको दर्शन पूजन, धार्मिक एवं प्राकृतिक पर्यटनको प्रवर्धन, आध्यात्मिक साधनाको निरन्तरता दिने समेत पदयात्राकाे उद्देश्य रहेकाे उनले बताए ।
पौडेलका अनुसार पदयात्रामा नेपाल तथा भारतका मुख्य पीठ र आश्रमका साधुसन्त एवम् धर्मिक अभियन्ताको समेतकाे सहभागिता रहने छ । दुई सय २० मिटर सामुद्रिक सतहदेखि चार हजार ९९० मिटरसम्मको उचाइको यात्रा २२ देखि २५ दिनसम्म हुनेछ ।





