मकवानपुर, ११ जेठ ।
साहित्य सङ्गम मकवानपुरले ८ जना व्यक्तित्वलाई हेटौंडामा सम्मान गरेकाे छ । ३५५ औं नियमित साहित्य सन्ध्यासँगै सङ्गम साहित्य उत्सव- २०८२ काे अवसरमा शनिबार विभिन्न सम्मानबाट ८ जनालाई सम्मानित गरेकाे हाे ।
मकवानपुर साहित्य श्री सम्मान- २०८१ बाट मकवानपुरे साहित्य स्रष्टा राजकुमार लामिछाने सम्मान गरिएकाे छ । तत्कालीन जिल्ला विकास समिति हाल जिल्ला समन्वय समिति संस्थापक रहेकाे उक्त सम्मानकाे राशि १५ हजार ५५५ रुपैयाँ रहेकाे छ । यसैगरी भेषनाथ अधिकारी स्मृति छन्द सम्मान- २०८१ बाट टीका आत्रेय सम्मानित भएकी छिन् । विशाल अधिकारी आशुताेषले स्थापना गरेकाे उक्त सम्मानकाे राशि १५ हजार ५५५ रुपैयाँ रहेकाे छ ।
यस्तै समीर पाख्रिन दीपक मुडभरी स्मृति सम्मान- २०८१ बाट सम्मानित भए । १० हजार रुपैयाँ राशिकाे उक्त सम्मान मुडभरी परिवारले स्थापना गरेका हुन् । यसैगरी विनोद सुनिता सुवेदी सम्मान- २०८१ बाट पत्रकार रामकुमार एलन सम्मानित भएका छन् । ११ हजार १११ रुपैयाँ राशि रहेकाे उक्त सम्मान प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले स्थापना गरेका हुन् । १० हजार रुपैयाँ राशिकाे मंगलादेवी स्मृति सम्मान- २०८१ बाट बवी थापा सम्मानित भएकी छिन् । उक्त सम्मान शिक्षासेवी देवप्रसाद श्रेष्ठले स्थापना गरेका हुन् ।
यसैगरी मुक्तितारा सम्मान- २०८१ बाट यश लामा सम्मानित भएका छन् । मुक्तिगोविन्द वैद्यले स्थापना गरेकाे उक्त सम्मानकाे राशि १० हजार रुपैयाँ रहेकाे छ । यस्तै १० हजार रुपैयाँकाे रामहरि देवु सम्मान- २०८१ बाट मकवापुरे कवि मसान उपासक सम्मानित भएका छन् । ऋषि केबी र पूण्यशीला श्रेष्ठले उक्त सम्मान स्थापना गरेका हुन् । यसैगरी साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०८०/०८१ बाट अभय श्रेष्ठ सम्मानित भए । डा. केशव श्रेष्ठ ज्योतिले स्थापना गरेकाे उक्त सम्मानको राशि २५ हजार १ रुपैयाँ रहेकाे छ ।
शनिबार भएकाे कार्यक्रममा सम्मानित स्रष्टाहरुले रचना वाचन समेत गरेका थिए । कार्यक्रममा २ वटा प्यालन डिस्कसन भएकाे थियाे । `सपना र सम्भावना : सिर्जनामा नयाँ पुस्ता´ र `कविता : युगकाे प्रतिविम्बन´मा प्यानल डिस्कसन भएकाे संगम सचिव मनोज पोखरेलले जानकारी दिए । सर्जक संजाल मकवानपुरका संयोजक निमेष निखिलले अभिभावकत्व ग्रहण गरेर भएकाे `कविता : युगकाे प्रतिविम्बन´मा प्यानल डिस्कसनका वहसकर्तामा अभय श्रेष्ठ, टीका आत्रेय र घनश्याम घिमिरे रहेका थिए भने सेसनकाे सहजकर्ता शान्ति प्रियवन्दनाले गरिन् ।
मकवानपुरे साहित्यकार दीपक गौतमको अभिभावकत्वमा भएकाे `सपना र सम्भावना :सिर्जनामा नयाँ पुस्ता´ प्यानल डिस्कसनका वहसकर्तामा संप्रस पौडेल, प्रतिमा डङ्गोल र कृतिका लौडारी रहेका थिए । यस सेसनकाे सहजकर्ता छवि अनित्य थिए । कार्यक्रममा अतिथि साहित्यकारहरुकाे रचना वाचन तथा संगमका कार्यसमितिका पदाधिकारीहरुकाे रचना वाचन समेत भएकाे थियाे ।
कार्यक्रमकाे सहजीकरण सचिव पोखरेलले गरेका थिए ।





