रामकृष्ण अनायास
भरतपुर, ६ जेठ ।
कवि मीना रिमालको कवितासङ्ग्रह `मातृस्वप्न´’विमोचन भएको छ । मङ्गलबार चितवन साहित्य परिषद्मा आयोजित कार्यक्रममा कविका मातापिता जमुनादेवी रिमाल र ईश्वरीनाथ रिमाल, सासुससुरा भूमिनाथ पौडेल र हीरादेवी पौडेल, चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित र कवि सुरेन्द्र अस्तफलले कृति विमोचन गरे ।
विमोचन कार्यक्रममा बोल्दै कवि रिमालले समाजमा रहेका विकृति र विसंगतिलाई नढाँटिकन कवितामार्फत उतारेको बताइन् । `कलमको धर्म साँचो बोल्नु हो, मैले कवितामार्फत कविको धर्म निभाएकी छु´, कवि रिमालले भनिन् – `हाम्रो समाजका आम महिलाका अनुभव र अनुभूतिलाई कवितामा उतारेकी छु ।´
कवितासङ्ग्रहलाई चितवन साहित्य परिषद्ले प्रकाशन गरेको हो । सङ्ग्रहमा ५१ वटा कविता छन् । कार्यक्रममा कवि सरिता तिवारीले समीक्षात्मक टिप्पणी राख्दै मीना रिमालका कविता नारी आवाज बुलन्द भएर आएको बताइन् ।
कार्यक्रममा कविहरु शान्ति शर्मा, एकदेव रिमाल, भूपिन, रामकृष्ण अनायास, सामना पहाड, बालकृष्ण थपलिया र अर्जुन अस्तफलले सङ्ग्रहका एक एक वटा कविता वाचन गरेका थिए । कविका बुवा ईश्वरीनाथ रिमालले शुभकामना मन्तव्य राख्दै छोरीका कविताहरू आफूलाई मन परेको बताए । कार्यक्रमलाई चितवन साहित्य परिषद्का सचिव नवराज ढुंगानाले सहजीकरण गरेका थिए ।





