मकवानपुर, ६ जेठ ।
मकवानपुरकाे हेटौंडामा जमिन भासिएर बेपत्ता भएको गाडी १९ दिन पछि जमिन मुनी भासिएकाे अवस्थामा भेटिएकाे छ । हेटौंडा उपमहनागरपालिका – १६ स्थित गैरीगाउँ माछापालन गरिएकाे फाँटमा जमिन भासिएर हराइरहेको ना ४ च ४८३३ नम्बरको बाेलेराे गाडी मंगलबार जेसीबी प्रयोग गरेर निकालिएकाे छ ।
मंगलबार अपरान्ह गाडीको च्यासिस फेला परेपछि त्यसलाई निकाल्ने काम भएको हाे । गत १९ बैशाखमा गैरीगाउँ माछापालन क्षेत्रमा माछा बोक्ने ना ४ च ४८३३ नम्बरको बलेरो गाडी अनलोड गर्ने क्रममा जमिन भासिएर पुरिएको थियो । लगातार ३ दिनसम्म खोजी गर्दा गाडी नभेटिएपछि हेटौंडा उपमहानगरपालिकाको समन्वयमा गत २३ वैशाखमा भूगर्भविद् झिकाएर उक्त क्षेत्रकाे अध्ययन समेत गरिएकाे थियो ।
खानी तथा भूगर्भ विभागका विज्ञ मार्फत अध्ययन गर्दा बाेरिङका कारण जमिन भासिएर गाडी हराएको निष्कर्ष सहितकाे प्रतिवेदन आएको थियो । सोही अनुसार विभागबाट पुनः २ जेठमा भूगर्भविदको टोली खटिएर माटो अनसन्धान तथा परीक्षणका लागि नमुना सङ्कलन गरिएको थियो । माटो परीक्षणको रिपोर्ट र भूगर्भविदको प्रतिवेदनकाे आधारमा ६ जेठ मंगलबार गाडी भासिएको स्थानमा जेसीबी प्रयोग गरेर गाडी खोज्ने कार्य गरिएको हो ।
सो स्थानमा उत्खनन गरी सवारी साधन खोजी गर्न सकिने रिपोर्ट तथा सतर्कता अपनाई उत्खनन् गरी सवारी साधन खोज तलास गर्न सकिने स्थानीय जनपतिनिधिलाई दिइएकाे सुझाव अनुसार उत्खखन कार्य गरिएको हो । हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडाध्यक्ष रामकृष्ण कोइरालाको सक्रियतामा क्रेन र स्काभेटरको सहयोगमा हराएको बाेलेराे गाडी निकलिएकाे हाे ।





