द्वन्द्वपीडित महिलाहरू आदर्श गृहबाट सम्मानित

सरिता पौडेल

भरतपुर, ६ जेठ ।
सशस्त्र द्वन्द्वको समयमा एकल जीवन व्यतित गर्दै समाज रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्ने साहसी महिलाहरूलाई आदर्श गृह नेपालले एक समारोहका बीच सम्मान गरेको छ ।
सम्मानित हुनेहरूमा द्वन्द्वपीडित महिला जिल्ला सञ्जाल चितवनकी अध्यक्ष पार्वती खड्का, भरतपुर महानगरपालिकामा गठित दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन स्थानीय समितिका सदस्य संगिता भट्टराई, पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान उपसमितिका सदस्यहरू कुमारी रमा ढुंगाना र लालकुमारी सिलवाल, सञ्जाल सदस्यहरू लक्ष्मी घले र शर्मिला बराली मगर रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले द्वन्द्वपीडित महिलाहरूको संघर्ष प्रति सम्मान प्रकट गर्दै समाजमा उनीहरूको योगदानको कदर आवश्यक रहेको बताए ।

संस्थाका अध्यक्ष तथा अग्रणी अधिकारकर्मी मीना खरेलले सशस्त्र द्वन्द्वजस्तो चुनौतीपूर्ण समयमा पनि आत्मगौरव र आत्मविश्वासका साथ अघि बढ्ने महिलाहरूको अदम्य हिम्मत प्रेरणादायी रहेको बताइन् ।

सम्मानित महिलाहरूले सम्मानबाट थप जिम्मेवारीको अनुभूति भएको बताए । उनीहरूले द्वन्द्वपीडित महिलाका मुद्दालाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्न सरकार तथा सरोकारवालाहरूलाई आग्रह गरे । विशेषतः स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चितता मार्फत नेपाल मै बस्न सकिने वातावरण तयार गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख शान्ताकुमारी पौडेल, वडा नम्बर १० का सदस्यहरू सूर्यवदना हमाल र पार्वती नेपाली, आदर्श नारी विकास केन्द्रकी अध्यक्ष उषा खरेल सुवेदी, पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुली, अधिवक्ता गोमा न्यौपानेलगायतले धारणा व्यक्त गरे ।

२०५२–२०६२ सालको सशस्त्र द्वन्द्वले हजारौं महिलाको जीवनमा गहिरो चोट पुर्‍याएको थियो । भरतपुरमा पनि यस्ता महिलाहरू आजसम्म पीडाबाट गुज्रिरहेका छन् । उनीहरूको सम्मान र अधिकार सुनिश्चित गर्न यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्नेमा सहभागीहरूले जोड दिए ।
कार्यक्रम आदर्श गृह नेपालको आयोजनामा तथा भरतपुर–१० वडा कार्यालयको सहकार्यमा भएको हो।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट