गैँडाकोट, ३ जेठ ।
वीरगञ्ज निवासी लेखक गणेशप्रसाद लाठको नयाँ कृति ‘सीमान्त सम्झना’ संस्मरणसङ्ग्रहमाथि शनिबार गैँडाकोटमा विमर्श गरिएको छ । अक्षर समूह चितवनले कार्यक्रमको आयोजना गरेको हो ।
विमर्श कार्यक्रममा बोल्दै प्रमुख वक्ता कवि भूपिनले सीमान्त सम्झनाभित्र आएका कतिपय प्रसङ्ग अरूको जीवनमा पनि मेल खाने खालका रहेको बताए । कतिपय प्रसङ्गहरू आफूले पनि भोगेको भूपिनले बताए । `गणेशजीले आफ्ना जीवनका थुप्रै भोगाइ र अनुभवलाई किताबमा उतार्नुभएको छ, कतिपय प्रसङ्ग त हराएर गैसके, तर तिनको याद कहिल्यै मेटिदैन´, भूपिनले भने -`फितावाला चप्पल मैले पनि लगाएँ, क्यासेट सुनेँ, पोस्टकार्डमा सन्देश लेखेर प्रिय व्यक्तिलाई दिएँ । ब्ल्याकमा टिकट लिएर कतिकति फिल्म हेरियो । अहिले यी कुरा सम्झिँदा पनि लोभ लाग्छ ।´
भूपिनले यो पुस्तक वीरगञ्जको सामाजिक, आर्थिक र ऐतिहासिक पक्षको दस्तावेजका रूपमा आएको पनि बताए ।
कार्यक्रमको बहस सत्रमा कवि सुरेन्द्र अस्तफलले लेखक लाठ, कथाकार शान्ति शर्मा र समीक्षक उदय अधिकारीसँग प्रश्नोत्तर शैलीमा कुराकानी गरेका थिए । किताबमा लेखक लाठले निर्धक्क भएर आफ्ना भोगाइहरु राखेको उदय अधिकारीले सुनाए । `उहाँले राम्रोसँग आफ्ना भोगाइ र अनुभव समेट्नु भएको छ । सामग्री रोचक र पठनीय छन् । मैले एकैपटकमा ६ घन्टा लगाएर यो किताब सकेँ´, अधिकारीले भने । पुस्तकमा लेखकले वीरगञ्जको रहनसहन र सांस्कृतिक पक्षलाई सरल र मौलिक भाषामा प्रस्तुत गरेको अधिकारीले बताए ।
वक्ता शान्ति शर्माले किताबमा लाठका सबै संस्मरणहरु राम्रो लागेको बताइन् । पारिवारिक संस्मरणहरुमा श्रीमतीसँगको सम्बन्धका कुराहरू भने किताबमा नभेटिएको उनले सुनाइन् ।
कार्यक्रममा नारायणगढका प्रसिद्ध व्यवसायी उमाशंकर अग्रवाल पनि सहभागी थिए । नेपाली साहित्य क्षेत्रमा मारवाडी समुदायबाट नगन्य उपस्थिति रहेको बताउँदै अग्रवालले भने – `गणेशप्रसाद लाठले ५ वटा किताब लेखेर हाम्रो समुदायको गरिमा बढाउनुभएको छ ।´
विश्लेषक चन्द्रकिशोरले वीरगञ्ज र चितवन भौगोलिक हिसाबले नजिकै भए पनि व्यवहारिक हिसाबले नजिक हुन नसकेको बताए । वीरगञ्ज र चितवनले सहकार्य गरेर अर्थ, व्यापारका क्षेत्रमा प्रगति गर्न सक्ने धेरै संभावनाहरु रहेको उनले बताए ।
कार्यक्रममा पत्रकार गिरिश गिरी, गोविन्द रिमाल, प्रेम कँडेल र विमल आचार्यले पनि आफ्ना भनाइ राखेका थिए ।
पुस्तकमा नेपाल, भारत र चीनबीचको त्रिपक्षीय सामाजिक तथा आर्थिक सम्बन्धका आयामलाई समेत समेटेको लेखक लाठले बताए । वीरगञ्जको स्थानीय परिवेशसँग सम्बन्धित घटनाक्रम, प्रविधिको विकास र सामाजिक रूपान्तरणलाई किताबमा समेट्ने कोसिस गरेको बताउँदै लेखक लाठले पाठकहरुलाई किताब पढेर प्रतिक्रिया दिन अनुरोध गरे । `किताब पढ्नुहोला, मलाई खुसी बनाउने गरेर प्रतिक्रिया नदिनुहोला । तपाईंको निर्मम प्रतिक्रिया र सुझावलाई मैले मनन गरेर अगाडि बढ्नेछु´, लाठले भने ।
अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव विनोदबाबु रिजालले सहजीकरण गरेका थिए । नेपालयबाट प्रकाशित किताबको मूल्य ७४५ छ ।





