युवा पलायन रोक्न चुनौती

मकवानपुर, २८ वैशाख ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले युवालाई रोजगारी र उत्पादनसँग आबद्ध गर्नु र युवा पलायन रोक्नु गम्भीर चुनौती रहेकाे बताएका छन् ।

आइतबारबाट हेटौंडामा सुरु भएको प्रदेश युवा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले कृषि क्षेत्रमा युवा शक्तिलाई आकर्षित गर्न सिप विकास तालिम, बिउ पुँजी, प्रविधि हस्तान्तरण र व्याज अनुदान दिने कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिए । ‘राम्रो शिक्षाको नाममा युवा विद्यार्थीहरू बिदेसिने ट्रेन्ड अझ डरलाग्दो देखिएको छ’ उनले भने ।

‘नीति निर्माण र नेतृत्व तहमा युवाको उपस्थितिले देशको विकासले गति लिनेछ’ उनले भने ‘युवाहरूका मुद्दा समेट्न नसक्ने नेतृत्वले विकास र समृद्धिको दिशा निर्देश गर्न सक्दैन ।’ ‘शासकीय संरचनामा युवाहरू उपस्थित अनिवार्य गर्नुपर्छ’ उनले भने । देश निर्माण तथा सङ्घीय संरचना संस्थागत गर्न युवाहरूको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए । ‘देश विकासको नीति निर्माण र नेतृत्व तहमा युवाहरूको उपस्थिति कति छ ? भन्ने प्रश्न मुख्य सवाल हो ।

‘नीति निर्माण तहमा युवाको सहभागिता र संलग्नता गौण छ । नेतृत्व तहमा युवाहरू पुग्न कठिन भइरहेको देखिन्छ’ उनले भने । प्रदेशको समग्र विकासमा युवा शक्तिको सहभागिता, संलग्नता, सहकार्य र साझेदारी अपरिहार्य रहेको उनले बताए । प्रदेश सरकारले आगामी वर्षको बजेट र कार्यक्रमले युवाहरूको सहभागिता, सशक्तिकरण र साझेदारीलाई प्राथमिकतामा राख्ने उनले बताए । प्रदेशका युवाहरू सूचना प्रविधि (आइटी) क्षेत्रमा सक्रिय रहेको र सूचना प्रविधिलाई युवाको रोजगारी र उद्यमशीलतासँग गाँस्ने रणनीति अवलम्बन गरेको उनले बताए ।

कार्यक्रममा प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पाैडेलले युवाको परिभाषा उमेरले नभई सक्रियता र गतिशीलताका आधारमा निर्धारण हुने बताए । युवाहरूमा रचनात्मक र सकारात्मक सोच हुन जरुरी रहेको उनले बताए । मुलुक परिवर्तनमा युवाहरूमा सोच र सकारात्मकताका साथ स्रोत साधनको प्रयोग गर्न सामर्थ्य हुनुपर्ने बताए । नेपाललाई कङ्गाल बनाउने गरी बिचौलियाहरू सक्रिय भएको उनको भनाई छ ।

प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवा लक्षित कार्यक्रम ल्याउनु पर्ने बताए । युवाहरूका विषयहरूलाई सिप र खेलकुदमा जोडेर अघि बढाउनुपर्ने उनले बताए । ‘पछिल्लो पटक विभिन्न दुर्व्यसनका कारण युवाहरूको अवस्था कमजोर बनिरहेको छ’ उनले भने ‘युवाहरूको समस्या निराकरणका लागि खेलकुद क्षेत्रका गतिविधिमा संलग्न गराउन योजनाबद्ध कार्यक्रम ल्याउनु जरुरी छ ।’

बागमती प्रदेश युवा परिषद्‌को आयोजनामा आइतबारबाट हेटौंडामा ३ दिने युवा सम्मेलन सुरू भएको हाे । बागमती प्रदेशका मुख्यमन्त्री लामाको प्रमुख आतिथ्यतामा सुरु सम्मेलनमा शिक्षा, सीप तथा नीतिगत संवाद हुनेछ । सम्मेलनमा डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा, सिप, सृजना, दिगो विकासमा जलवायु परिवर्तन, युवामा सीपमूलक तालिमको आवश्यकता, प्राथमिकता, नीति नेतृत्व र युवा संलग्नता, मुख्यमन्त्रीसँग युवा विषयक छलफल गरिने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताए ।

युवा सम्मेलन सुरू हुनु अगाडि हेटौंडाको बुद्धचोकबाट खैजेडी भजन, झाँकी सहित प्रभातफेरी गरिएकाे थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट