मकवानपुर, २८ वैशाख ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माणमैत्री कानुन नबन्दा निर्माण व्यवसायी समस्यामा पर्दै आएको बताएका छन् । अहिले देशको आवश्यकता र चाहना देशको विकास र समृद्धि भएको भन्दै उनले पूर्वाधार निर्माणलाई गति दिन र गुणस्तरीय निर्माणका लागि निर्माण मैत्री र विकासमैत्री ऐेन कानुन आवश्यक भएको बताए ।
निर्माण व्यवसायी संघ मकवानपुरको २५ औँ साधारणसभाकाे हेटौंडामा उद्घाटन गर्दै उनले भने ‘खरिद नियमावलीमा पछिल्लो पटक भएको संशोधनले केही सहज भएकोले निर्माण व्यवसायीलाई राहत मिल्ने देखिन्छ ।’ ‘सार्वजनिक खरिद ऐन संशोधनको क्रममा रहेको छ, निर्माण मैत्री ऐन बनाउन सबै एक जुट भएर लाग्नुपर्छ’ अध्यक्ष सिंहले भने ‘संसारभर सफल भएका निर्माण व्यवसायी नेपालमा असफल भएका छन्। निर्माणमा विभिन्न अवरोधहरु आउँछन्, यसको पछिल्लो उदाहरण नेपाली सेनाले लिएको काममा पनि समयमा नहुनुले पुष्टि गर्छ।’
सरकारी टोलीसहित चीन भ्रमणमा जाँदा पनि नेपालको निर्माणसम्बन्धी कानुनका बारेमा प्रश्न उठेको प्रसंग उल्लेख गर्दै उनले भने ‘नेपालको निर्माण सम्बन्धी ऐन कानुन निर्माणमैत्री छैन। संशोधन आवश्यक छ।’ धेरै घटाघटमा ठेक्का लिने प्रवृत्ति समस्या बन्दै आएको उनले बताए।
महासंघका सल्लाहकार निकोलस पाण्डेले सार्वजनिक खरिद नियमावलीमा रहेका व्यवस्था प्रयोग गरेर कानुनी उपचारमा जानु आवश्यक भएको बताए । ‘अहिलेको सार्वजनिक खरिद ऐनले निर्माण व्यवसायी र राज्य दुवैलाई नोक्सानी पुगेको छ’ उनले भने । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामाले नैतिक र नीतिगत रुपमा गर्ने काममा व्यवसायी स्पष्ट हुनुपर्ने बताए । ‘कम दरमा ठेक्का हाल्ने प्रवृत्तिले समस्या भएकाेले १५ प्रतिशतभन्दा बढी घटेर ठेक्का नहाल्न निर्माण व्यवसायीलाई आग्रह गर्दछु ।’ उनले भने ।
बागमती प्रदेश सभा सदस्यद्वय प्रेमबहादुर पुलामी र भारती पाठकले निर्माण व्यवसायीले गरेका कामको समयमा भुक्तानी पाउनुपर्ने बताए । निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएकाे हाे ।





