गैंडाकोट, २५ वैशाख ।
१९७औँ विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखाले गैंडाकोट- १ मा रहेको अपांग जीवन विकास संस्थामा रहेका आश्रित सबैलाई एकएक सेट कपडा र फलफूल प्रदान गरेको छ ।
रेडक्रसका संस्थापक जोन हेनरी ड्यूनाको स्मृतिमा मे ८ तारिखका दिन विश्वभर रेडक्रस दिवस मनाउँदै आइएको छ । उनी सन् १८२८ मे ८ मा स्विटजरल्याण्डको जेनेभा सहरमा जन्मिएका थिए । मानवीय सहयोगमा आधारित भएकोले रेडक्रसले यो वर्षको नारासमेत `मानवतालाई जीवित राखौँ´ भन्दै मनाइरहेको छ ।
गैंडाकोट रेडक्रस उपशाखाका सभापति उमाकान्त सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा रेडक्रस उपशाखाका सदस्य खगेश्वर गौडेल, गोविन्द रिमाल, पूर्व कोषाध्यक्ष चेतनाथ गौडेल, आजीवन सदस्य नारायण सुवेदी, अपांग जीवन विकास संस्थाका सञ्चालक बालकृष्ण सापकोटाको उपस्थिति रहेको थियोे । कार्यक्रमको सहजीकरण संस्थाका सचिव एवम् जिल्ला शाखा नवलपुरका सचिव विष्णुप्रसाद सापकोटाले गर्नुभएको हो ।





