चितवन, २३ वैशाख ।
संघीय अस्पताल भरतपुर अस्पतालले क्याथल्याबलगायतका थप नयाँ सेवा विस्तार गरेको छ । अस्पतालले क्याथ ल्याबलगायतका नयाँ नौवटा सेवा विस्तार गरेको हो ।
अस्पतालले मुटु तथा शरीरका अन्य स्थानमा रक्तनली बन्द हुने समस्यामा दुरबिनका माध्यमबाट शल्यक्रिया गराउने गरी क्याथल्याब सेवा सुरु गरेको हो भने यससँगै आईसियुसहितको जलन वार्ड, फटिलिटी क्लिनिक, स्तनपान प्रवद्र्धन कार्यक्रम, चाइल्ड प्ले थेरापी, योग ध्यान केन्द्रलगायतका सेवा सञ्चालनमा ल्याएको हो ।
अब भरतपुरमै मुटु र जलन उपचार
भरतपुर अस्पतालमा मुटु र जलन उपचार सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार अस्पतालको क्याथल्याब र जलन वार्डको उद्घाटन गरेसँगै यस अस्पतालमा यी दुई सेवा औपचारिक रूपमा सुरु भएको हो । मन्त्री पौडेलले स्वास्थ्यमन्त्रीको कार्यभार सम्हाल्नेबित्तिकै प्रदेश अस्पतालहरूमा यी दुवै सेवा विस्तार गर्ने घोषणा गरेका थिए । सोही घोषणाबमोजिम सेवा सुरु भएको मन्त्रालयले जनाएको छ ।
यी दुवै सेवा उद्घाटन क्रममा मन्त्री पौडेलले प्रदेशस्तरमै नागरिकले सेवा पाऊन् भनेर विशिष्टीकृत उपचार सेवा विस्तार गरिएको बताए । ‘यो अस्पतालमा विशिष्टीकृत उपचार सेवा सुरु भएसँगै सबै प्रदेशमा विस्तार गर्ने योजना अघि बढेको छ’, उनले भने । विपन्न नागरिकको पहुँचमा जलन उपचार सेवा दिने लक्ष्यका साथ सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्ने लक्ष्य अघि बढेको पौडेलको भनाइ छ ।
उनले भने, ‘मुख्यतः विपन्न नागरिकको सहज पहुँचका लागि जलन उपचार सेवा विस्तार गर्ने लक्ष्य राखेका छौँ । सुर्खेतमा आइतबार र भरतपुरमा सोमबारदेखि उपचार सेवा सुरु भइसकेको छ ।’
यससँगै संघ सरकारअन्तर्गतको भरतपुर अस्पतालमा सन्तानविहीनका लागि इनफर्टिलिटी क्लिनिकसहितका आठ सेवा सुरु भएको छ । वैशाखमा सेवा थाल्नुपर्ने तालिकाअनुसार अस्पतालमा सेवा सुरुवात भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।