मकवानपुर, २३ वैशाख ।
बागमती प्रदेश सरकारले प्रदेशसभाको वर्षे ( बजेट) अधिवेशन जेठ ५ गतेका लागि आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद बैठकले वर्षे (बजेट अधिवेशन) अधिवेशन जेठ ५ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार बजेट अधिवेशन जेठ ५ गते ११ बजेका लागि बोलाउने गरी प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम माथि छलफल गर्न प्रदेशसभा अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय भएको उनले बताए ।
उक्त सिफारिसका आधारमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्नेछन् । यसअघि प्रदेशसभाको हिउँदे अधिवेशन बैठक चैत २० गते अन्त्य गरिएको थियो । सत्तापक्ष र प्रतिपक्ष दलहरु बिचको विवादका कारण चैत १९ र २० गतेका लागि आह्वान गरिएको बैठक समेत बस्न नसकेपछि सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेको थियो । प्रदेशसभाको बैठक नियमित नहुँदा ४ वटा विधेयकका प्रतिवेदन समेत राेकिएकाे छ ।





