मकवानपुर, २० वैशाख ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनताले महशुस गर्नेगरी सकारात्मक परिवर्तनको आवश्यक रहेकाे बताएकी छिन् । मदन भण्डारी फाउण्डेशन मकवानपुरको चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
व्यवस्था परिवर्तन भएपनि नागरिकको जीवनस्तर सुधार हुन नसकेको उनले बताएकी छिन् । व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्थामा अझै पनि सकारात्मक परिवर्तन आउन सकेको देखिँदैन’ पूर्व राष्ट्रपति भण्डारीले भनिन् । ‘राजनीतिक परिवर्तन र संविधान समय समयमा बदल्दै आयौं तर, जनताले सकारात्मक परिवर्तनको महसुस गर्ने गरी सामाजिक र आर्थिक रुपान्तरणको कार्यभार पूरा गर्न बाँकी छ’ उनले भनिन् ‘जननेता मदन भण्डारीको विचारलाई सबै राजनीतिक दलले पछ्याउँदै नागरिकको जीवनस्तर परिवर्तन गर्नुपर्छ ।’
नागरिकको आवश्यकता अनुसारको विकास अहिलेको आवश्यकता भएको उनले बताइन् । ‘राजनीतिक दलले समाजको आर्थिक, सामाजिक व्यवस्थाको रुपान्तरणलाई मुल लक्ष्य बनाएर अगाडि बढनुपर्छ’ उनले भनिन् । मौलिक राजनीतिक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ मार्फत् नागरिकको सक्रिय सहभागिता, बहुदलीय प्रतिस्पर्धा र खुला लोकतान्त्रिक प्रणालीसहित देशलाई समाजवादको दिशातर्फ उन्मुख भइरहेको उनको भनाई थियो ।
२०४७ सालको संविधानमा मदन भण्डारीको २७ बुँदे आलोचनाकै जगमा नेपालमा राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उनले दावी गरिन् । ‘‘‘वर्गीय विविधतायुक्त समाजमा नागरिकको हितमा काम गर्ने र सधै जनतासँग जोडिएको राजनीतिक दल मात्र शासनमा पुग्ने गर्छ’ पूर्व राष्ट्रपति भण्डारीले भनिन् ।
श्रीचन्द्र शर्मा स्मृति सम्मान –२०८२ बाट रेग्मी सम्मानित
श्रीचन्द्र शर्मा स्मृति सम्मान –२०८२ बाट हेटौंडा–८ कमानेकी शुभद्रा रेग्मी सम्मानित भएकी छिन् । राजनीतिक व्यवस्था परिवर्तनमा भूमिका निर्वाह गरेको भन्दै मदन भण्डारी फाउण्डेशन मकवानपुरले रेग्मीलाई नगदसहित सम्मान गरेको हो ।
फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको सभाध्यक्षता तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा शनिबार हेटौँडामा भएको कार्यक्रममा पञ्चायती निरङकुशता विरुद्धको लडाईमा सहभागी भई सेल्टरदाताको रुपमा गतिशील रहेको भन्दै रेग्मीलाई सम्मान गरेको हो ।
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको पनि आतिथ्य रहेको थियो । फाउण्डेशनको साधारणसभाले पुनः खुलालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।





