सुनेँ पीडादायी खबर दिल मर्माहत भयो
निभ्यो रे प्रज्ञाको अति चहकिलो दीपक अहो !
सबैका श्रद्धाका शिखर मतिमान् भूषण गुरु
गए छाडी सांसारिक विषयको कायिक तरु
थिए ज्ञानी ध्यानी विविध गुणखानी गुरुवर
थिए जो शिक्षाका द्युति अमित, अध्यात्मलहर
थिए शास्त्रज्ञाता प्रखर प्रतिभा बौद्धिक-विभा
थिए आफै विद्याजलधि, गुरुका गौरव सदा
बसेको जिह्वामा विषय रसिलो संस्कृत थियो
कि वाणीमा शिक्षा हरसमयमा नैतिक थियो
थियो नाता गाढा सुमधुर कला-वाङ्मयसित
रमाएका हुन्थे प्रिय उपनिषत्का लयसित
थिए वेदज्ञाता सरल मति पूर्वीयपथका
र आयुर्वेदज्ञ त्रिविध विषय ज्ञान सरिता
उनी बोल्ने गर्थे हृदयपट खोलेर सहसा
कड़ा बोल्थे मानौँ हितकर दिँदै औषधि सुधा
उनी सोच्ने गर्थे प्रतिदिवस “वीरेन्द्र” कसरी
सुशिक्षाको ज्योतिर्मय शिखर बन्ला जगभरि
बिताएथे आफ्ना सुखद पल अध्यापनसँगै
छरी आफ्ना प्रज्ञा-किरण हिँडिराखे मनसँगै
जो प्राध्यापक हुन् , प्रशासक बने सत्कर्म राम्रो गरे
आफ्ना जे सपना थिए सुखकरी शिक्षालयैमा छरे
छैनन् किन्तु शरीरमा, तर बनी सत्प्रेरणा अक्षय
बांँच्नेछन् जगमा युगौंयुग छरी आलोक ज्योतिर्मय ।।




