काठमाडौं, १४ वैशाख ।
काठमाडौँको बानेश्वरमा प्रहरी र आन्दोलनरत शिक्षकबीच झडप भएको छ ।
शिक्षकहरूले आइतबार बानेश्वरमा प्रहरीको घेरा तोडेर अगाडि बढ्ने प्रयास गरेपछि झडप भएको काडमाडौँ जिल्ला परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।
शिक्षकहरू आक्रामक बनेपछि बल प्रयोग गरेको प्रहरीको दाबी छ । प्रहरीले लाठी चार्ज र पानीको फोहोरा हानेको छ । त्यसबाट ७ जना शिक्षक घाइते भएको पनि एसपी बोहराले बताए । घाइतेको अरू विवरण संकलन गरिरहेको र केही प्रहरीलाई पनि चोट लागेको उनले बताए ।
एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले स्थिति सामान्य रहेको पनि एसपी बोहराले बताए । संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू २५ दिनदेखि काठमाडौँकेन्द्रित सडक आन्दोलनमा छन् ।





