काठमाडौँ, १४ वैशाख ।
स्टेजमा वाद्यवादकको एउटा समूहले भायोलिन, चेलो, पियानो, तबला, बाँसुरी लगायत वाद्यवादन बजाइरहेका छन् । बाजाबाट निस्किएको पर्वतीय ध्वनिले दर्शकदीर्घामा रहेका सबैको मन खिचेको आभाष हुन्छ ।
त्यत्तिकैमा हलको पछिल्तिर एउटा आकृति देखा पर्छ । याकको मस्कट पहिरिएका दुई कलाकार पर्वतीय ध्वनिको तालसँग ताल मिलाउँदै स्टेजतर्फ लम्कन्छन् । दर्शकहरू एक पटक फेरि पुलकित हुन्छन् । वाद्यवादनबाट निस्किएको ध्वनिमा दर्शकहरुले पैदा गरेको तालीको गडगडाहट र सिठ्ठीको फोहोरा मिसिन थाल्छ । त्यसपछि याक स्टेज उक्लन्छ र मायालु तरिकाले अर्केस्ट्राका निर्देशक डा. जोन शार्पसँग खेल्न खोज्छ । अनि डा. शार्पले पनि याकलाई सुम्सुम्याउँछ । याक प्रफुल्लित बन्छ । दर्शकले झन् ठूलो स्वरमा हुटिंग अनि ताली बजाउँछन् ।
शनिबार अपराह्न काठमाडौँको रसियन हाउसको हलमा दर्शकहरूले यस्तै अद्भुत अनुभूति गर्न पाए । उक्त अवसर प्रदान गरेको थियो – काठमाडौँ युथ अर्केस्ट्राले । स्प्रिंग कन्सर्ट टु नाम दिइएको करिब एक घण्टा लामो अर्केस्ट्रा कन्सर्ट हेरेर दर्शकहरूले खुबै आनन्द उठाए ।
कन्सर्टमा विभिन्न नेपाली देशभक्ति र सांस्कृतिक गीतहरू जस्तै सयथरी बाजा एउटै ताल, पश्चिम कोही पूर्व घर, शुभकामना भरि, उकाली ओराली, याक नृत्यमा अर्केस्ट्रा प्रस्तुति दिइएको थियो । यस्तै सिंगापुरबाट आएकी अतिथि एमेलिया क्याङले हिलिङ साउण्ड बजाएकी थिइन् । अर्केस्ट्रामा गायक गायिका, नृत्यकार र वाद्यवादक गरी ३६ जनाको समूह रहेको थियो ।
सोही कार्यक्रममा काठमाडौँ युथ अर्केस्ट्राले ट्युन्स अफ नेपाल नामक पुस्तक पनि लोकार्पण ग¥यो । उक्त पुस्तकमा नेपाली राष्ट्रिय सयौँ थुँगा फूलका हामी सहित विभिन्न २१ वटा नेपाली गीतहरूको मेलोडी सिट समावेश गरिएको छ । यसले विदेशीहरूलाई नेपाली गीतको धुन बजाउन मद्दत गर्दै नेपाली धुनलाई विश्वसामु चिनाउन सघाउ पु¥याउने आशा काठमाडौँ युथ अर्केस्ट्राका सचिव तथा कार्यक्रम संयोजक न्हुच्छे मुनिकारले व्यक्त गरे ।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा डा. जोन शार्पले संगीत र मानवबीचको सम्बन्धमाथि प्रकाश पारेका थिए । “संगीतले हामीलाई भौतिक इन्द्रियहरूभन्दा पर पु¥याउँछ । यसले हामीलाई भावनात्मक रूपमा शान्त हुन मात्रै नभई आत्मिक रूपमा पनि उत्थान गर्न मद्दद गर्छ र हामीमा मानवताको गहिरो भावना जगाउँछ”, उनले भने । हामी जे सुन्छौं, हाम्रो मन पनि त्यस्तै बन्ने उनको तर्क थियो ।
अर्केस्ट्रा कन्सर्टका सहजकर्ता तथा कठमाडौँ म्युजिक इन्स्टिच्युटका निर्देशक सबिन मुनिकारले संगीतका थुप्रै उपयोगिता रहेको उल्लेख गरे । विद्यालय तहमा संगीतका बारेमा बुझाउने पाठ्यक्रमको अभाव रहेको महसुस गर्दै आफूहरूले म्युजिक इन्स्टिच्युट सञ्चालनमा ल्याएको उनको भनाइ थियो । संगीत बहुआयामिक विषय भएको र यसमा विज्ञानदेखि गणित हरेक कुरा मिसिएको हुँदा बालबालिकाको संगीतप्रतिको रुचिलाई अभिभावकले मर्न दिन नहुने उनको तर्क थियो ।
कन्सर्टमा काठमाडौँ महानगरपालिका वडा नं १ का वडाध्यक्ष न्हुच्छे काजी महर्जन, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, काठमाडौँ मनपा वडा नं २३ का वडाध्यक्ष मचाराजा महर्जन, वडा नं १५ का वडाध्यक्ष ईश्वरमान डंगोल, वाद्य सम्राट न्हुच्छे बहादुर डंगोल लगायतको उपस्थिति रहेको थियो ।
सन् २०११ मा स्थापना भएको काठमाडौँ युथ अर्केस्ट्राले विभिन्न अवसर पारेर विभिन्न सांगीतिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।