काठमाडौं, १३ वैशाख ।
चरम रगत अभाव भइरहेको वर्तमान समयमा नेपाल शिक्षक महासङ्घको आह्वानमा आन्दोलनकै क्रममा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५७४ जनाले रक्तदान गरेका छन् । चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलनको २३ औँ दिनका दिन बृहत खुला रक्तदान कार्यक्रम आन्दोलन स्थलमा नै आयोजना गरिएको थियो ।
आन्दोलनको मैदानमा रक्तदानको फरक दृश्यले यतिबेला सबैको ध्यान आकर्षण गरिरहेको छ ।
रगत अभावका समाचारहरू सुनिइरहेका बेला आन्दोलनलाई रचनात्मक बनाउन तथा मानवीय सेवामा समर्पित हुन बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको शिक्षक महासंघ नेपालका केन्द्रीय सदस्य शिक्षक नेता मैतसिंह तामाङले बताउनुभयो। विगतका सम्झौता कार्यान्वयन गर्दै अग्रगामी शिक्षा ऐनको मागसहित देशैभरिका शिक्षकहरु यतिबेला सडक आन्दोलनमा छन् । आन्दोलनको आज २५ औँ दिनमा पनि शिक्षकहरू सडकमा बसेर प्रदर्शन गर्ने कार्यक्रम छ । सर्वोच्च अदालतले शिक्षकका मागहरू पूरा गरी विद्यालय फर्काउन सरकारलाई ध्यानाकर्षण गरेको छ ।