भरतपुर, १० वैशाख ।
ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुरमा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको मोटिभेसनल सेसन सम्पन्न भएको छ । ग्रीन आर्मी नेपालको आयोजनामा स्कुलको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ग्रीनल्याण्ड स्कुलका कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरु सहभागी थिए । उनीहरुलाई प्रमुख वक्ता पूर्व प्रहरी महानिरीक्षक खनालले विभिन्न विषयमा उत्प्रेरणा प्रदान गर्नुभएको थियो । उहाँले युवाहरु विदेशिने क्रम बढ्नु दु:खद भएको भन्दै देशमै अवसरको खोजी गर्नुपर्ने बताउनुभएको थियो ।
देश र माटोको माया र महत्त्व बारे पनि खनालले विद्यार्थीहरुलाई मोटिभेट गर्नुभएको थियो । यस्तै खनालले लागुपदार्थ दुर्व्यसनी, साइबरक्राइम, ट्राफिक नियम, बाल बिवाहलगायतको विषयमा विद्यार्थीहरुलाई सचेत गराउनुभयो ।
उहाँले आत्मरक्षाको बिषय विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो । खनालले विद्यार्थीहरुसँग अन्तरक्रिया पनि गर्नुभएको थियो । विद्यालयकी प्राचार्य इन्दिरा पन्त कार्कीले कार्यक्रम विद्यार्थीहरुका लागि निकै फलदायी भएको बताउनुभयो ।
स्कुलका सह प्राचार्य उपेन्द्र आचार्यले सहजीकरण गर्नुभएको कार्यक्रममा ग्रीन आर्मी नेपालका कार्यक्रम संयोजक वसन्त पौडेल, पूर्व प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटा, समाजसेवी डाक्टर जनार्दन ढकाल, ड्रिल कोच डाक्टर विष्णुबहादुर विश्वकर्मा, ग्रीन आर्मीकी सिआई कञ्चन भट्टराईलगायतको पनि उपस्थिति रहेको थियो ।




