मकवानपुर, १० वैशाख ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले खेलकुद क्षेत्रको विकास र व्यवस्थापनमा सरकारले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हेटौंडा–६ स्थित गौरीटार रङ्गशालामा निर्माण भएको फुटबल मैदानको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले यस्तो बताएका हुन् ।
उनले उत्पादनमा केन्द्रित गरेर बजेट कार्यक्रम तयार गर्नुपर्ने बताए । सरकारले खेलकुद क्षेत्रबाट पनि राजस्व सङ्कलन गर्ने गरी संरचनाहरूको व्यवस्थापनमा अघि बढेको उनले बताए । उनका अनुसार खेलाडीहरूको प्रोत्साहन र विकासमा सरकारले नयाँ ढङ्गका कार्यक्रम अघि बढाउने तयारी गरेको छ । सरकारको बजेटलाई आय आर्जनमा जोड्न र रोजगारी तथा उत्पादन योग्य क्षेत्रमा लगानी गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा प्रदेशका युवा तथा खेलकुद विकास मन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रलाई पर्यटनमा जोडेर अघि बढाउनु पर्ने बताए । खेल पर्यटनको माध्यमबाट अर्थतन्त्रमा महत्त्वपूर्ण हिस्सा समेट्ने सक्ने भएकाले प्रदेश सरकार त्यसतर्फ अग्रसर हुनुपर्ने उनले बताए । ‘साहसिक खेलहरूको सम्भाव्यता अध्ययन गरेर पूर्वाधार निर्माणमा जोड दिनसके पर्यटकहरूको आगमन र बसाइको दर बढाउन सकिन्छ’, उनले भने ।
२०७४ बाट प्रदेश सरकार अन्तर्गतकाे योजनाकाे रुपमा उक्त रङ्गशाला निर्माण हुँदै आएकाे थियाे । निर्माणका काम व्यवस्थित गरी उद्घाटन गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले बताए । अघिल्लो कार्यकालमा मैदान तयार भए पनि पूर्वाधार निर्माणको काममा भएका केही कमजोरी सुधार गरिएकाे उनले जानकारी दिए ।
हाल रङ्गशालाको रनिङ ट्र्याक, मैदान, फ्याराफिटमा कुर्सी जडान तथा पर्खाल निर्माण गर्नको लागी २० करोड ४६ लाख ७४ हजार रुपैयाँ लागत अनुमान गरेर ठेक्कामार्फत काम गरिएको उनले बताए । साबिकको सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरी धादिङबाट गौरीटारको फुटबल मैदानको उक्त योजना कार्यान्वयनका लागि २०७८ वैशाख १४ गते १३ करोड ३८ लाख ६५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको उनले बताए ।
निर्माण कम्पनीले २०८१ पुस २९ मा काम सम्पन्न गर्नुपर्ने गरी काम अघि बढाइ रङ्गशालाको प्याराफिटमा २ हजार ४०० थान कुर्सी जडान गरिएको छ भने रनिङ ट्राकमा वेस कोर्स र १०५.६८ मिटरको खेल मैदानमा पानी निकासको स्वचालित सिस्टम जडान गरिएको उनको भनाई छ ।
२८ जेठ ०६४ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रङ्गशालाको शिलान्यास गरेका थिए । केन्द्रीय खेलकुद प्रतिष्ठानका रूपमा विकास गर्ने गरी तत्कालीन समयमा खेलकुद परिषद्ले खेलकुदका संरचना निर्माणको थालनी गरेको थियो । बजेटले निरन्तरता पाउन नसक्दा १४ वर्षसम्म यो रङ्गशाला निर्माणको कार्यले गति लिन सकेको थिएन ।
हाल गौरीटार रङ्गशालामा पौडी पोखरी र क्रिकेट रङ्गशाला निर्माणको काम धमाधम भइरहेको छ । सदस्य सचिव लामाका अनुसार प्रदेश सरकारले गत आर्थिक वर्षदेखि क्रिकेट रङ्गशाला निर्माणका लागि १२ करोड र स्विमिङ पुल निर्माणको लागि ९ करोड रुपैयाँ विनियोजन गरेर निर्माण थालेको थियो ।
रङ्गशालामा पहिलो चरणमा ६०० भन्दा बढी दर्शक क्षमताको एउटा प्याराफिटसहित ५ वटा पिच, ७० मिटर रेडिएशनको ग्राउण्ड भीभीआइपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङ लगायतका संरचना निर्माण हुने परिषद्ले जनाएको छ ।





