भरतपुर, ६ वैशाख ।
भरतपुर महानगरपालिका वडा नम्बर – २५, छाताचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पश्चिम चितवनको बुद्धनगरबाट अमृतचोकतर्फ गइरहेको ना ५१ प २०४० नम्बरको मोटरसाइकल र देवीस्थानबाट मुख्य सडकमा निस्किँदै गरेको बागमती प्रदेश ०६–००२ प १३०४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा भरतपुर–२७ निवासी ३९ वर्षीय टेकबहादुर पुलामीमगर र भरतपुर–२० निवासी ३५ वर्षीय विशाल भट्टराईको ज्यान गएको छ । पुलामीमगरको उपचारका क्रममा पुरानो मेडिकल कलेज (सिएसएस) भरतपुरमा र भट्टराईको भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते हुनेमा २० वर्षीय सफल पौडेल, २७ वर्षीया केशरी पुलामीमगर र १७ वर्षीया सुजिता पुलामीमगर रहेका छन् । घाइतेमध्ये केशरीको अवस्था गम्भीर रहेको र उनको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको प्रहरीले जनाएको छ ।





