काठमाडौँ, ४ वैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । पार्टीभित्र ‘एक व्यक्ति, एक पद को सिद्धान्त लागू हुनुपर्ने भन्दै उनले राजीनामा दिएकी हुन्।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले श्रेष्ठको राजीनामाबारे जानकारी दिँदै श्रेष्ठ अब संसदीय गतिविधिमा सक्रिय रहने उद्देश्यले पदबाट अलगिएको बताएका छन् । यद्यपि, उनको राजीनामा औपचारिक रूपमा स्वीकृत भइनसकेको पार्टीले जनाएको छ।
श्रेष्ठले करिब १५ दिनअघि नै सभापति रवि लामिछानेलाई राजीनामा पत्र बुझाइसकेको बताएकी छन्। तर, लामिछानेलाई उच्च अदालतले सहकारी ठगी मुद्दामा पक्राउ गर्ने आदेश दिएपछि उक्त विषयमा थप प्रक्रिया अघि बढ्न सकेको थिएन।
श्रेष्ठका अनुसार रवि लामिछाने पार्टी पुनर्संरचनाको तयारीमा लागिरहेको भन्दै नेताहरूलाई तयार रहन भनेको सन्दर्भमा उनले आफ्नो भूमिका स्पष्ट पार्दै राजीनामा दिएकी हुन्। उनले भनिन्, “रविजी सभापति भएर फर्किएपछि मैले उहाँलाई राजीनामा बुझाएँ। उहाँको पार्टी पुनर्संरचना गर्ने विचार र मेरो नेतृत्व विकासको धारणा मिल्दा मैले पद छाड्ने निर्णय लिएँ।”
आफू सांसदको भूमिकामा अझ प्रभावकारी रूपमा काम गर्न सक्ने विश्वास उनले व्यक्त गरेकी छिन्।
हाल रास्वपामा कबिन्द्र बुर्लाकोटी कार्यवाहक महामन्त्री छन् भने सहमहामन्त्रीका रूपमा सुमना श्रेष्ठसँगै विपिन आचार्य रहेका छन्।





